| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनीको रामशाह माविको बार्षिकोत्सव

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले आँबुखैरेनी क्षेत्रलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
गण्डकी प्रदेशको मुख्यद्वार आँबुखैरेनीबाट प्रवेश हुने भएकोले आँबुखैरेनीलाई सबैको ध्यान केन्द्रित गर्ने खालको शैक्षिक केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको उनले बताए । तनहुँको आबुँखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री चुमानले आँबुखैरेनीमा प्राविधिक, कृषि तथा व्यवसायिक शैक्षिक केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिए । स्वरोजगार मुलक जनशक्ति उत्पादन गराउनुपर्ने उनको भनाई छ । सम्बोधनका क्रममा सो विद्यालयमा आफुले पढेको र पढाएको स्मरण गर्दै उनले विद्यालयमा व्यवसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागी पहल गर्ने बताए
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सानुकाजी थापाको अध्यक्षतामा भएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख साधुराम पौंड्ेल, आँबुखैरेनी क्याम्पस संचालन समितीका अध्यक्ष सन्त बहादुर के.सी, क्याम्पस प्रमुख ऋषि के.सी, मेरो साथी संचारका अध्यक्ष विपिन मल्ल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सोही अबसरमा विद्यार्थीहरुले विज्ञान प्रर्दशनी, बिविध सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रमहरु प्रस्तुत गरेका विद्यालयका शिक्षक राजेश सुनामले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्