| सोमवार, कार्तिक २३, २०८३

गर्भवतीलाई पोसिलो झोला, छात्रालाई सेनिटरी प्याड

अनुपमा खनाल :
गोरखा नगरपालिकाले ज्येष्ठ नागरिक, गर्भवती र किशोरीको स्वास्थ्य प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सुभारम्भ गरेको छ । नगरपालिकाको स्वास्थ्य सेवा प्रबद्र्धन कार्यक्रम अन्तर्गत गर्भवतीलाई पोषिलोझोला, ज्येष्ठ नागरिकलाई उपचारकार्ड र छात्राहरुका लागि सेनेटरी प्याड वितरण कार्यक्रम सुभारम्भ गरिएको हो । गोरखा नगरपालिका ८ रानीस्वाँरा उपस्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले तीनवटै कार्यक्रमको सुभारम्भ गरे । कार्यक्रम अन्तरगत गर्भवती महिलाको स्वास्थ्य राम्रो राख्नका लागि पोषिलो झोला वितरण गरिने मेयर पन्तले बताए । ‘गर्भवती लाई चार भेटमा पोषिलो झोला दिनेछौं’ उनले भने ‘झोलामा आश्बश्यक पर्ने पोषिलो खाना हुनेछ ।’ यस कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा नियमित रुपमा चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भजाँच गर्न जानेलाई पोषिलो झोला वितरण गरिने स्वास्थ्य शाखाका प्रमुख निश्चल अर्यालले बताए । चार महिनामा जाचँ गर्नेलाई पोषिलो झोला मार्फत ३० वटा अण्डा, ६० चक्की आइरन चक्की र नङकट दिईनेछ । छ महिनामा जाँच गर्न जानेलाई दुई केजी अन्न, चना केराउ लगायतका स्थानीय जातका गेडागुडी, ६० चक्की आइरन चक्की र दुईवटा नुहाउने साबुन दिईनेछ । आठ महिनामा गर्भ जाँच गर्न स्वास्थ्य चौकी पुग्नेले सिजन अनुसारका फलफुल र ६० चक्की आइरन पाउनेछन् । नौ महिनामा गर्भ जाँच गर्नेलाई आमा र बच्चाका लागि न्यानो कपडा र ४५ चक्की आइरन चक्की वितरण गरिनेछ । पोषिलो झोला मार्फत प्रति गर्भवती १६ सय रुपैयाँ बराबरका खाद्यान्न, फलफुल र सामाग्री वितरण गरिने अर्यालले जानकारी दिए । ‘प्रतिभेट ४ सय रुपैयाँका चिज उपलब्ध गराउनेछौं ।’ यसका साथै यसअघि सुत्केरीलाई दिदैं आएको न्यानो झोला पनि उपलब्ध गराईनेछ । स्वास्थ्य सँस्थामा नै सुत्केरी हुनेले ४ पटक गर्भ जाचँ गरेबापत ८ सय रुपैयाँ र यातायात खर्च वापत दुई हजार रुपैयाँ पाउनेछ । पोषिलो झोला कार्यक्रम अन्तरगत नगरपालिकाले यो बर्ष १० लाखको कोष स्थापना गरेको छ । सो रकम नगर क्षेत्रका हरेक स्वास्थ्यचौकी ब्यबस्थापन समितिले दिएको सेवाका आधारमा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । नगर क्षेत्रमा हाल एक हजार तीन सय ५७ गर्भवती रहेको शाखाको अनुमान छ । गोरखा नगरपालिकाले मंगलबारबाट नै ज्येष्ठ नागरिक लाई उपचार कार्ड वितरण शृुरु गरेको छ । कार्यक्रम अन्तरगत ६० बर्ष उमेर पार गरेका नगरका सबै ज्येष्ठ नागरिकलाई उपचार कार्ड वितरण सुरु गरिएको छ । अस्पताल तथा स्वास्थ्य चौकीको बहिरंग कक्षमा पुगेका ज्येष्ठ नागरिकलाई कार्ड वितरण गरिने स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । ‘कार्डमा ज्येष्ठ नागरिकका स्वास्थ्य अबस्था, उनीहरुले प्रयोग गर्ने औषधिका बारेमा रेकर्ड राखिन्छ’ उनले भने ‘पिसावबाट युरिन र सुगर जाँच गर्छौ, रगतबाट पनि सुगरको जाँच गर्छौ । ब्लडप्रेसर जाँच गर्छौ र देखिएका समस्याका आधारमा उपचारका प्रक्रियाका बारेमा सहजिकरण गर्छौ ।’ स्वास्थ्य चौकी पुग्न नसक्ने अशक्त, अपाङ्गगता भएका ज्येष्ठ नागरिकलाई ६÷६ महिनामा घरमा नै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्ने हाम्रो लक्ष्य छ । ’यस कार्यक्रमले स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेकालाई स्वास्थ्यको पहुँचमा ल्याउन मद्धत पुग्ने नगरपालिकाको विश्वास छ । सोही कार्यक्रमबाट सामुदायिक विद्या लयका छात्राकालागि सेनेटरी प्याड उपलब्ध गराईएको छ । विद्यालय मा छात्राहरुलाई महिनावारी ब्यबस्थापनका लागि सेनेटरी प्याड उपलब्ध गराईएको हो । महिना वारीअवधिमा कक्षा छाड्न नपरोस भनेर मंगलबारदेखि हरेक विद्यालयमा सेनेटरी प्याडको ब्यबस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । ‘विद्यालयमा हुँदा महिनावारी भएर कक्षा छोड्नपर्ने बाध्यता अब अन्त्य हुनेछ’ उनले भने ‘महिनावारी ब्यबस्थापनका लागि सघाउ पु¥याउन र छात्राले पुरा कक्षा बस्न सक्ने बनाउनका लागि सेनेटरी प्याड उपलब्ध गराउने निर्णय भएको हो ।’ हरेक विद्यालयका शिक्षिकामार्फत महिनावारीबारे छात्रालाई परामर्श तथा प्याड वितरण र ब्यबस्थापन गर्ने उनले जानकारी दिए । स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा ५ देखि १२ कक्षासम्म चलेका २२ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु हुनेछ । यसका लागि नगरपालिकाको ७५ हजार र संघीय सरकारबाट प्राप्त २५ हजार गरि एक लाख रुपैयाँको कोष छ । गोरखा नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर पन्त, उप मेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका नरजंग ठकुरी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्