
पालुङटारका विद्यालयमा आकस्मिक परीक्षा : सिकाइ उपलब्धी ज्यादै न्यून
किरण लोहनी : नगरक्षेत्रभित्रका विद्यालयको शैक्षिक स्तर मापनका लागि पालुङटार नगरपालीकाले आकस्मिक परीक्षा लिएको छ । विद्यालयहरुको सिकाई उपलब्धी मापनका लागि ५ वटा विषयमा परीक्षा लिइएको नगरपालीकाको शिक्षा कार्यालयले जनाएको छ । अंग्रेजी, गणित, सामाजिक, नेपाली र विज्ञान गरी मुख्य ५ विषयमा परीक्षा लिइएको शिक्षा शाखाका प्रमुख महेन्द्र पराजुलीले बताए । ‘परीक्षाका लागि विज्ञ शिक्षकहरु बाट प्रश्नपत्र र उत्तरकुञ्जिका तयार पारी नगर शिक्षा कार्यालयमै कोडिङ गरी परिक्षण गरियो’ उनले भने, ‘प्रारम्भिक नतीजा पनि आइसकेको छ, हामी त्यसको विश्लेषण गरि कमजोरी कहाँ कहाँ रहेछ भनेर पत्ता लगाउँछौं ।’ पालुङटार नगरपालीकाभित्रका ४४ वटै विद्यालयमा गत पुष २ गते एकसाथ परीक्षा गरिएको हो । उत्तरपुस्तिका परीक्षणको प्रारम्भिक विश्लेषणमा तल्लो तहका विद्यार्थीहरुको सिकाई उपलब्ध निकै कमजोर पाइएको पराजुलीको भनाई छ । यस्तै विषयगत रुपमा गणित विषयमा विद्यार्थीहरु कमजोर पाइएको उनले बताए । ‘विषयगत रुपमा हेर्दा गणितमा विद्यार्थी अलि कमजोर देखिए, अरु विषयमा पनि तल्लो तहको सिकाई उपलब्धी राम्रो देखिएन’पराजुलीले भने ।
नगरपालीकाले अघिल्लो वर्षपनि यसप्रकारको परीक्षा सञ्चालन गरेको थियो । सो क्रममा देखिएका कमीकमजोरी सुधारका लागि प्रयास थालिएको नगर शिक्षा कार्यालयका विद्यालय निरिक्षक शितल पाण्डेले बताए । यो वर्षको परीक्षाको नतीजा केलाएर सुधारका प्रयास थाल्ने नगर शिक्षा कार्यालयले जनाएको छ । ‘प्रधानाध्यापक र विषयगत शिक्षकसँग प्रत्यक्ष छलफल गर्छौं, यदि विद्यालयको कारण हो भने ब्यवस्थापन समिति र अभिभावक सँग छलफल गर्छौं, शिक्षकहरुको कमजोरी हो भने त्यही अनुसार सुधारका काम थाल्छौं ।’ नगर शिक्षा कार्यालयका प्रमुख पराजुलीले बताए । कतिपय अवस्थामा तल्लो तहका शिक्षकले माथिल्लो तहमा पढाउन जाँदा तलको सिकाई भने कमजोर बनेको उनको भनाई छ । ‘सबै कारण केलाएर सुधारका काम थाल्छौं, हाम्रो प्राथमिकता शिक्षा क्षेत्र हो ।’ नगर प्रमुख दिपकबाबु कँडेलले भने ।
नगरपालीकाले यो वर्ष शैक्षिक क्षेत्रमा ६३ लाख रुपैया वजेट विनियोजन गरेको छ । स्मार्ट सिटि बनाउने क्रममा रहेको पालुङटारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख कँडेलले बताए ।




