| आइतवार, कार्तिक २२, २०८३

गोरखामा बर्षेनी विद्युत माग बढ्दो

किरण लोहनी :
गोरखामा हरेक वर्ष १० प्रतिशतका दरले विद्युत माग बढ्दै गएको देखिएको छ । घरायसी काममा पनि विद्युतीय उपकरण प्रयोग गर्ने क्रम बढेपछि विद्युतको माग बढेको हो ।
यस्तै हालसम्म विजुली नपुगेका र लघु जलविद्युतको प्रयोग हुँदै आएको ठाऊँमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार हुन थालेपछि विद्युतको माग पनि बढ्दै गएको हो ।
विद्युत विस्तारसँगै ग्राहकको संख्या बढ्दा माग पनि बढेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा गोरखामा केन्द्रिय प्रशारण लाइनको विद्युत उपयोग गर्ने ग्राहकको संख्या ३७ हजार ६४ रहेकोमा चालु आर्थिक वर्षमा झण्डै एक हजारले बढेको उनले बताए । ‘चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ग्राहकको संख्या झण्डै ८ शयले बढेको छ’ उनले भने ‘चालु आर्थिक वर्ष ग्राहकको संख्या १५ शयसम्म विस्तार गर्ने लक्ष्य छ ।’
गोरखा वितरण केन्द्रले सिम्जुङको केही भागमा हालसालै केन्द्रिय
प्रशारण लाइनको विजुली विस्तार गरेको छ ।
यो वर्ष सिम्जुङको बाकी भाग सहित मुच्चोक, खरिबोट, हंसपुर लगायतका ठाऊँमा केन्द्रिय प्रशारण लाइनको विजुली पु¥याइने न्यौपानेको भनाई छ ।
आगामी आर्थिक वर्षसम्ममा वारपाक र लाप्राकसम्म विद्युत विस्तार गर्ने योजना स्विकृत भै वजेट विनियोजन पनि भैसकेको उनले जानकारी दिए ।
विद्युतको माग वर्षेनी बढ्दै गएपनि औद्योगिक ग्राहकको संख्या भने बढ्न सकेको छैन । जिल्लाभरका ३८ हजार ग्राहकमध्ये औद्योगिक ग्राहकको संख्या ४ शय १४ मात्रै रहेको छ ।
तिनमा पनि घरेलु र मझौला उद्योगीको संख्या धेरै रहेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । ठूलो संख्यामा उद्योगधन्दा खुल्ने र औद्योगिक ग्राहकको संख्या नबढेमा जिल्लामा अहिलेको विद्युत माग अनुसार आपूर्ति ब्यवस्थापन गर्न सकिने केन्द्र प्रमुख न्यौपानेले बताए ।
जिल्लामा हाल विद्युतको अधिकतम माग साढे ६ मेगावाट रहेको छ । जिल्लाभर विद्युत विस्तार गर्दा पनि करीव ८ मेगावाट विद्युतले माग धान्न सक्ने वितरण केन्द्र प्रमुख न्यौपानेको भनाई छ ।
ग्राहकको संख्याबृद्धिसँगै विद्युतको माग बढेपनि विद्युत वितरण प्रणालीमा भने सुधार हुन सकेको छैन ।
विना अवरोध २४ सै घण्टा विद्युत सेवा उपलब्ध गराउनका लागि अहिले भएको प्रणाली सुधारमा जोड दिनुपर्ने विद्युत प्राधिकरण न्यौपानेको भनाई छ ।
विद्युत विस्तारसँगै प्राधिकरणले हाल भएको प्रणाली सुधारको काम पनि अघि बढाएको छ । सदरमुकाम आसपासमा भएको ५ वटा टूान्सफर्मरको क्षमता बढाइएको छ । सम्पूर्ण काम २ वर्षभित्र सक्ने गरि सुधार थालिएको केन्द्रले जनाएको छ ।
३ वटा सव स्टेशन निर्माण, फिडर लाइन थप, प्रशारण लाइनमा सुधार लगायतका काम थालिएको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा प्राधिकरण अन्तर्गतको आयोजना ब्यवस्थापन निर्देशनालयले जिल्लाको ३ ठाऊँमा सव स्टेशन निर्माणको काम थालेको छ । पालुङटार, घ्याम्पेसाल र जौवारीमा सव स्टेशन निर्माण थालिएको हो ।
पालुङटार र घ्याम्पेसालमा निर्माणको काम शुरु भैसकेको र जौवारीमा जग्गा प्राप्तिको काम सकिएको छ ।
निर्माण पूरा भएपछि यि सबै सव स्टेशनलाई गोरखा सदरमुकाममा रहेको सव स्टेशनसँग जोडिनेछ । यस्तै प्राधिकरणले जिल्लाका अरु ३० ठाऊँमा रहेका टूान्सफर्मरको क्षमता बढाउने काम पनि थालेको छ । अहिले गोरखास्थित सब स्टेशनबाट ३ वटा प्रशारण लाइन अर्थात फिडर मार्फत विद्युत वितरण हुँदै आएकोमा त्यसलाई बढाएर ५ वटा बनाउने गरि काम शुरु भैसकेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्