| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सुन्तला उत्पादन बढ्यो

अनुपमा खनाल : गोरखामा यसबर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । सुन्तला उत्पादनमा ह्रास आएपछि बिगत बर्ष निराश भएका किसानहरु यसबर्ष उत्पादन बढेर आम्दानी बृद्धि भएपछि उत्साहित भएका हुन् । यो साल सुन्तलाका बोटमा स्याहार पुग्नुका साथै पर्याप्त सिञ्चाई पुगेकाले उत्पादन बढेको किसानहरुले बताएका छन् ।
गतबर्षको तुलनामा सुन्तलाको दाना र मुल्य पनि अहिले राम्रो रहेको ताङलीचोकका किसान सर्जन थापाले बताए । ‘एक सय ५३ बोट सुन्तला फलेको छ’ उनले भने ‘गतसाल साढे २ लाख रुपैयाँ आम्दानी भएको थियो, अहिले कम्तीमा ३ लाख हुन्छ ।’ अहिले सुन्तला टिपेर सहकारी मार्फत बिक्रीको क्रम चलिरहेको थापाले बताए । स्थानीय एक सय ४९ किसानले उत्पादन गरेका सुन्तला गुणस्तरका आधारमा तीन भागमा वर्गीकरण गरी फरक फरक मुल्य निर्धारण गरी सुन्तला उत्पादक कृषि सहकारी सस्थां मार्फत बिक्री हुँदै आएको छ । गतबर्ष प्रतिकिलो १२ देखि ४५ रुपैयाँसम्ममा बिक्री भएकोमा यो बर्ष न्युनतम १५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ सम्ममा सुन्तला विक्री भैरहेको सहकारीका उपाध्यक्ष समेत रहेका किसान थापाले जानकारी दिए । सहकारीमा संकलन भएको सुन्तला कालीमाटी र चाबहिलको तरकारी तथा फलफुल बजारमा बिक्री गर्ने गरिएको छ । गतबर्ष सहकारी मार्फत सवा करोड रुपैयाको सुन्तला बिक्री भएकोमा यो बर्ष करीब दुई करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको थापाले बताए । यसैगरी गतबर्ष सुन्तला बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी गरेको मनकामनाको ढाडँबारी कृषि समुहले यो बर्ष करीब सात करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । ६५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको समुहका अध्यक्ष ऋषि आलेले बताए ।‘ सुन्तला टिप्ने क्रम शुरु भएको छ’ उनले भने ‘किसानहरु सुन्तला टिप्न र बेच्नमा ब्यस्त छौ’ मनकामनाको ९८ हेक्टरमा एक सय २५ किसानले सुन्तला लगाएका छन् । सुन्तला बेचेर एक किसानले कम्तिमा ५० हजारदेखी २१ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन कार्यालयले पनि यो साल सुन्तला उत्पादन बढेको अनुमान गरेको छ । परियोजनाका गोरखाका प्रमुख अजय अधिकारीले यस बर्ष जिल्लामा ३० प्रतिशत बढि सुन्तला उत्पादन भएको बताए । गत आर्थिक बर्ष जिल्लामा आठ सय ६० हेक्टरमा लगाईएको सुन्तलाबाट ५५ सय मेटिूक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांक छ ।
हाल एक हजार पाचँ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएपनि आड सय ६५ हेक्टरबाट मात्रै उत्पादन लिन सकिने भएको छ । चालु आर्थिक वर्षमा सात हजार छ मेटिूक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको परियोजना प्रमुख अधिकारीले जानकारी दिए ।
परियोजनाले हाल सहीद लखन, गण्डकी, भिमसेन थापा गाउँ पालीका, गोरखा नगरपालीका सहित पालुङटार नगरपालीकाको वडा नम्वर ९ र १० मा कार्यक्रम गर्दै आएको छ । यो क्षेत्रका ५ सय १२ हेक्टर क्षेत्रमा परियोजना अन्तर्गत सुन्तला वगैंचा ब्यवस्था पन, किसानका लागि तालिम गोष्ठी लगायतका कार्यक्रम हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्