
दुर्गमबासीलाई निशुल्क स्वास्थ्य सेवा दिदै करुणा क्लिनिक
शिव उप्रेती
एक समाजसेवीले करुणा क्लिनिक स्थापना गरेर सदरमुकामबाट ५० कोश टाढा छेकम्पारका बासिन्दालाई निशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडा अध्यक्ष लामा पासाङ र उनका दाजु डुङसे पेमा लामाले विदेशी सहयोगीको साथ जुटाएर चारबर्षदेखि करुणा क्लिनिक स्थापना गरी सेवा दिएका हुन् । क्लिनिकमा स्वास्थ्य सहायक तहका कर्मचारीले बिरामीलाई स्वास्थ्य सेवा दिने गरेका छन् ।
‘एक जना एचए छन्’, लामा पासाङ भन्छन्, ‘बेला बेला विदेशी डाक्टरहरु पनि ल्याएर क्याम्प गर्छौं ।’
करुणा क्लिनिकबाट विशेषगरी स्त्री तथा प्रसुतीरोगको सेवा दिने गरेको छ । दुर्गम ठाउँका महिलामा धेरैजसो प्रसुती सम्बन्धी समस्या हुने गरेको यहाँ कार्यरत स्वास्थ्य सहायक लीला तामाङ भन्छिन् । ‘समस्या त धेरै किसिमको आउँछ । चिसोको समस्या पनि आउँछ, तर सबैभन्दो धेरै चाहिँ महिलाको समस्या हो’, उनले भनिन्, ‘गर्भवती र सुत्केरीलाई घरमै गएर सेवा दिएका छौं । हामीले सकेको हामी नै समाधान गर्छाैं, नसकेको चाहिँ बर्षमा एकफेर विशेषज्ञ चिकित्सकसहित शिविर हुने गर्छ । त्यो बेला समाधान हुन्छ ।’
बिरामीलाई स्वास्स्थ्यचौकी जान पनि सचेत गराउने गरेको उनी बताउँछिन् । ‘यहाँका मान्छे धेरैजसो घरेलु तरिकाले उपचार गर्ने चलन छ । अहिले हामीले स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सचेतना कार्यक्रम पनि गर्ने गरेका छौं’, उनी भन्छिन् ।
बजार क्षेत्रबाट धेरै टाढा भएकाले सर्बसाधारणलाई सेवा दिनका लागि करुणा क्लिनिक स्थापना गरिएको वडा अध्यक्ष लामा पासाङ बताउँछन् । ‘हाम्रो गाउँ बिकट ठाउँमा छ । सुत्केरी हुन नसकेर धेरै महिलाहरुको ज्यान गयो’, उनले भने, ‘यहाँका मान्छे बिरामी भए, घाइते भए भने सामान्य उपचार गर्न पनि हेलिकोप्टर चार्टर गरेर काठमाडौं जानु पर्ने बाध्यता छ, त्यसैले सानोतिनो सेवा गाउँमै दिनका लागि करुणा क्लिनिक स्थापना गरिएको हो ।’ क्यानडामा रहेका लामा पेमामार्फत विदेशी सहयोग जुटाएर क्लिनिक स्थापना गरेको उनले बताए । करुणा क्लिनिकले गर्दा गाउँलेलाई धेरै सुबिधा पुगेको स्थानीय ङवाङ सोनाम लामाको भनाइ छ ।
‘बच्चा पाउन नसकेर दुईलाख २० हजार रुपियाँ तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्य छ’, उनले भने, ‘यो क्लिनिकले निम्न आय भएकालाई धेरै नै सेवा दिइरहेको छ ।’
क्लिनिकमा विद्युत सेवाको समस्याका कारण ल्याब सेवा सञ्चालन गर्न भने कठिन रहेको उनको भनाइ छ ।




