| आइतवार, कार्तिक २२, २०८३

सुन्तला महोत्सवमा किसान पुरस्कृत

गोरखाको शहिद लखन गाउँ पालिका ३ मनकामनाको राम शाहघाट बजारमा तेस्रो सुन्तला महोत्सव एव कृषि तथा पशु प्रदर्शनी मेला शनिबार सम्पन्न भएको छ ।
प्रतिनिधी सभा सदस्य हरीराज अधिकारीले मेलाको उद्घाटन गर्दै उत्पादन बृद्धि गर्नका लागि किसानले ध्यान दिनुपर्ने बताए । किसानको सहुलियतका लागि सरकारले विउविजन तथा यन्त्र उपकरणमा समेत अनुदान दिदै आएको बताउदै उनले उत्पादन लाई बजारको ब्यबस्थापन का लागि पनि सरकारले सघाउने प्रतिबद्धता ब्यक्त गरे । महोत्सवमा सुन्तला प्रदर्शनीमा सहभागी ५१ किसानमध्ये उत्कृष्ट २३ जना पुरस्कृत भएका छन् । प्रदर्शनीमा तनहुँको आँबुखैरेनी २ बरादीकी धनकुमारी मगर पहिलो, शहिद लखन गाउँपालिका २ मनकामनाका होमबहादुर थापा दोस्रो र गण्डकी गाउँपालिका २ ताङलीचोकका सर्जन थापा तेस्रो भएका थिए । उनिहरुले क्रमश नगद पाँच हजार, तीन हजार पाँच सय र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, सान्त्वना भएका बिस जनालाई जनही एक हजार रुपैयाँ पुरस्कार दिईएको छ । महोत्सव अन्तरगत भएको सुन्तला खाने प्रतिस्पर्धामा शहिद लखन गाउँपालिकाका विजय तिवारी पहिलो, गोरखा नगरपालिका १४ का संयोग बुढाथोकी दोस्रो र शहिद लखन गाउँपालिका का केदार प्रसाद दुवाडी तेस्रो भएका छन् । उनिहरुले क्रमश एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ सहित प्रमाणपत्र पाएका शहिद लखन गाउँपालिका का कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन गोरखाका प्रमुख अजय अधिकारीले जिल्लाको सुन्तला खेतीसम्बन्धी जानकारी दिदै यस बर्ष जिल्लामा ३० प्रतिशत बढि सुन्तला उत्पादन भएको बताए । समयमा पर्याप्त मनसुनी वर्षा भएकाले सिंचाई पाएपछि सुन्तलाको उत्पादन अघिल्लो सालको तुलनामा बढेको उनको भनाई छ ।
कार्यक्रममा जिल्लाको देउराली, फिनाम, नारेश्वर, ताङलीचोक, ताक्लुङ लगायत तनहुँको आबुँ खैरेनीका सुन्तला किसानहरुले सुन्तलाको बिक्री तथा प्रदर्शनी गरेका थिए । गतबर्षको तुलनामा यो बर्ष सुन्तला उत्पादन बढेको भन्दै उनिहरु खुसि भएका छन् । अहिले प्रतिकिलो एक सयदेखि एक सय २० रुपैयाँसम्ममा सुन्तला बिक्री भैरहेको किसानहरुले बताएका छन् । सुन्तला जोन सञ्चालक समिति गोरखाका अध्यक्ष धुब्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य अधिकारी, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ गोरखाका अधयक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सुन्तला जोन सञ्चालक समिति गोरखा र नयाँपुल कृषि उपज सञ्चालक समितिको मुख्य आयोजना सहित गाउँपालिका लगायत विभीन्न संघसस्थांको सहयोगमा कार्यक्रम भएको हो । हरेक शनिवार हाटबजार लाग्ने ठाउँमा यो पटक सुन्तला महोत्सव गरिएको हो ।
महोत्सवमा करिब साँढे आठलाख रुपियाँ बराबरको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्