| सोमवार, कार्तिक २३, २०८३

गोरखामा गीता रेग्मीको पत्थरै पत्थरको शल्यक्रिया

शिव उप्रेती :
गोर्खाली लेखिका गीता रेग्मीद्वारा लिखित पत्थरै पत्थर नियात्रा संग्रहको शनिबार समीक्षा गरिएको छ । हरि सांस्कृतिक केन्द्रले पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।
केन्द्रकै सभाहल पाटेचौरमा भएको समीक्षा कार्यक्रममा समालोचकहरु ज्ञानु अधिकारी, डाक्टर प्रभा कैनी, इश्वर चौहान र ठाकुर खनालले समीक्षा गरेका थिए ।
२४ वटा शीर्षकमा संग्रहित पत्थरै पत्थर नियात्रा संग्रहले नेपालीमूलका बर्मेलीहरुको वर्तमान अबस्थाको बारेमा छर्लङ्ग पारेको छ । नेपालमा बिकृत हुदै गरेको तर बर्मेली नेपालीहरुले जोगाइरहेको नेपाली संस्कार संस्कृति, नेपाली भाषाप्रति नेपाली मूलका बर्मेलीहरुले गरेको अगाध मायाको बारेमा सो पुस्तकमा उल्लेख रहेको समीक्षकहरुले बताएका थिए ।बर्माको धार्मिक तथा पर्यटकीय स्थलहरुमा संरक्षित नेपाली संस्कार, संस्कृतिले विश्वमा नेपाल र नेपालीको सान बढाइरहेको बिषयमा पुस्तकमा उल्लेख रहेको पनि समीक्षकहरुले बताएका थिए । जापानसंगको युद्धको क्रममा बर्मा पुगेर त्यहीँ बसोबास गर्न बाध्य भएका नेपालीहरुको बाध्यात्मक अबस्था, नेपालमै फर्केर मर्ने चाहना राख्ने वृद्धवृद्धाले अहिलेसम्म पनि राहदानी नवीकरण गरेर बसिरहेको अबस्थाको पनि पुस्तकमा कारुणिक ढंगले चित्रण गरिएको समीक्षकहरुले बताएका थिए ।
कार्यक्रममा बोल्दै लेखिका रेग्मीले नेपाली समाजमा महिलाहरुको अबस्था निकै नै कष्टकर रहेको औंल्याउँदै, विद्यमान अबस्थाबाट माथि उठ्न महिलाजनलाई आग्रह गरिन् । छोरा र छोरी दुवै आफ्नै सन्तान भए पनि छोरालाई र छोरीलाई गर्ने ब्यबहारमा भेदभाव हुने गरेकोप्रति उनले गुनासो गरिन् ।
साथै महिलाले नै छोरीहरुलाई हेप्ने गरेको भन्दै यस्ता ब्यबहार अन्त्यका लागि आव्हान गरिन् । महिलाहरुले यथेष्ट भ्रमण गर्ने, देश विदेशको बदलिँदो अभ्यासको अध्ययन अवलोकन गर्न उनले सुझाव दिइन् ।
यसअघि लेखिका रेग्मीको पश्चिमाहरुको देशमा नियात्रा संग्रह, परिचय कथा संग्रह, पुस्तान्तर संयुक्त कथा संग्रह जस्ता पाँच पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्