
पुस २७ देखि दोस्रो आरुघाट महोत्सव हुने
गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र भनेर चिनिने आरुघाट बजारमा दोस्रो आरुघाट महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइ र आरुघाट युवा क्लवको आयोजनामा पुस २७ गतेदेखि माघ नौ गतेसम्म महोत्सव हुन लागेको हो । आरुघाट गाउँपालिकाको सहआयोजनामा महोत्सव हुन लागेको हो ।
आरुघाट बजारको घरेलु चौरमा हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, दोहोरी गीत कार्यक्रम, हाँस्यव्याग्य प्रहशन लगायतका कार्यक्रम हुने संघका अध्यक्ष विश्वकुमार श्रेष्ठले जानकारी दिए । बुढी गण्डकी जलविद्युत आयोजनाले नामेट हुन लागेको प्राचीन आरुघाट बजारको कला संस्कृतिलाई उजागर गर्न महोत्सव गर्न लागिएको श्रेष्ठले बताए । मनास्लु पदमार्गको प्रवेशद्वारमा पर्ने भएकाले पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ । आयोजकले गोरखा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, र काठमाडौंमा बस्ने आरुघाटबासी संग अन्तरक्रिया गरिसकेको छ ।




