| सोमवार, मंसिर ७, २०८३

चुमनुब्री वडा नं. ३ को प्रशासनिक कार्यालय अब आफ्नै भवनमा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.३ ले अब आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । फिलिमस्थित वडा कार्यालय भवनको सोमबार गाउँपालिका अध्यक्ष निमा लामाले उद्घाटन गरेका हुन् । चुमनुब्री गाउँपालिकामा ७ वटा वडा छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अन्य वडाहरूको कार्यालय भवन निर्माण पनि सम्पन्न भइसकेको तर उद्घाटन हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

साढे दुई तले उक्त भवनमा ९ वटा कोठा र सभाहल रहेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माणका लागि ३ करोड ५९ लाख रुपैयाँको लागत स्टिमेट गरिएको थियो । भवन निर्माण सम्पन्न गर्न भने करिब २ करोड ५५ लाख रुपैयाँ लागत लागेको वडाध्यक्ष रामकुमार गुरुङले बताए । उनका अनुसार जिएम कन्ट्रक्सन र दुधपोखरी कन्ट्रक्सनले भवन निर्माण गरेका हुन् ।

पहिलो तल्ला निमार्ण सम्पन्न भएलगत्तै सोही भवनबाट सेवा दिँदै आए पनि औपचारिक उद्घाटन भने सोमबार गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘विगत दुई वर्षदेखि यही भवनबाट सेवा प्रवाह गर्दै आए पनि औपचारिक उद्घाटन हुन सकेको थिएन,’ उनले भने, ‘आजदेखि हामीले औपचारिक रुपमा आफ्नै भवनबाट सेवा सुरु गरेका छौं ।’

यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्