
बूढीगण्डकी पीडित क्षेत्रमा खाद्यान्न अभाव नहोओस्
प्रकृतिको कोपभाजनमा परेको उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न बस्तीहरू अहिले गम्भीर खाद्यान्न अभावको संघारमा छन् । गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले धार्चे गाउँपालिका–१ का हुल्चुक, दोभान, उम्चेत तथा वडा नं २ का केरौंजा, रुञ्चेत, लामावेशी र केरौंजावेशी लगायतका बस्तीहरूलाई पूर्ण रूपमा यातायात सम्पर्कविहीन गरी नाकाबन्दीको अवस्थामा पु¥यायो । माछाखोला, खोर्लावेशी र दोभानका मोटरेबल तथा झोलुङ्गे पुलहरू बाढीले बगाएपछि नदी वारपार गर्ने र जिल्ला सदरमुकाम वा अन्य बजारसँग जोडिने सबै बाटाहरू अवरुद्ध छन् ।
भौतिक पूर्वाधारको क्षति त छँदैछ, आज यी गाउँबस्तीहरूमा त्यसभन्दा पनि गम्भीर रूपमा ‘पेटको ज्वाला’ निभ्ने अन्नको समेत अभाव सिर्जना भएको छ । सामान्यतया असार, साउन र भदौ महिनामा वर्षाका कारण बाटो बिग्रिन सक्ने र यातायात ठप्प हुने पूर्वअनुमान गरी स्थानीय बासिन्दाले जोगाएर राखेका एक–दुई बोरा चामल र खाद्यान्न पनि अब पूर्ण रूपमा रित्तिएको छ । दैनिक उपभोग्य सामग्रीको अभावले बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
यतिबेला नेपालीहरूको महान् पर्व तिहार नजिकिँदैछ । दशैँमा सामान्य खानपान र ढिलाइमा चित्त बुझाउने यी बस्तीहरूमा तिहार भने विशेष उत्साहका साथ मनाउने परम्परा छ । चाडबाडको रौनक र खुसीले घरघर छुने बेला भए पनि यतिबेला हुल्चुक, केरौंजा र रुञ्चेतका घरका भकारी र भान्साहरू पूर्ण रूपमा खाली छन् । चाडपर्वको मुखमा हातमा पैसा र गाउँमा चामल नहुँदा स्थानीयवासीहरू चिन्ता र नैराश्यतामा बाँचिरहेका छन् ।
विडम्बना के छ भने, असोज २५ गतेको बूढीगण्डकी बाढीले मच्चाएको वितण्डाको चर्चा केही दिन सञ्चारमाध्यममा आएर सेलाएलगत्तै संघीय, प्रादेशिक र स्थानीय सरकारको ध्यान पनि ती दुःखी बस्तीहरूबाट मोडिइसकेको छ । मिडियाको हेडलाइनबाट विपद् हटेसँगै सरकारी संयन्त्र पनि सुस्ताएको आभास हुन्छ । बाटो नखुलेका कारण स्थानीहरूले खाद्यान्न ढुवानी गर्न सकेका छैनन् ।
तसर्थ, सरकारले विपद्को यो घडीमा औपचारिक औपचारिकता र कागजी प्रक्रियामा अल्झिएर बस्ने छुट छैन । स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको अवस्थामा हेलिकप्टर वा अन्य वैकल्पिक माध्यमबाट भए पनि तत्काल चामल, नुन, तेल र अत्यावश्यक खाद्यान्न ती बस्तीहरूमा पु¥याइनुपर्छ ।




