
सेराङ गुम्बा जाने बाटोमा सुख्खा पहिरो
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका ५ क्य्राकमा मंगलबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झरिरहेको वडाअध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।
क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधाघण्टाको पैदल दुरीमा पहिरो गएको लामाले जानकारी दिए । ‘क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुख्खा पहिरो झरिरहेको छ’, वडाअध्यक्ष लामाले भने, ‘मंगलबार बिहान ११ बजेतिर बेस्सरी धुवाँ उँडेर पहिरो झ¥यो । हामी एक बजेतिर गएर हेरेर फक्र्यौँ । फेरि अहिले गएराति उस्तैगरी झ¥यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।’
लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म तीनसय मिटर भन्दा लामो पहिरो झरेको छ । ‘आगो फुक्दा आएजस्तो सेतो धुवाँ उँडेको छ’, उनले भने, ‘डाँडाबाट खोलासम्मचाहिँ करिब तीनसय मिटरजति छ । अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन ।’
सो सुख्खा पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब चारसय जनालाई समस्या भएको छ । ‘गुम्बामा लामा पढ्ने विद्यार्थी दुईसय जनाजति छन् । लामा गुरुहरु र गुम्बाको वृद्धाश्रममा गरी दुईसय जनाजति गुम्बामा छन्’, वडाअध्यक्ष लामाले भने, ‘उनीहरुलाई रासन लगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।’
गोरखाको हिमाली भेगतिर धमाधम सुख्खा पहिरो र हिमपहिरो झर्न थालेपछि स्थानीयबासी चिन्तित छन् । ‘खै अचेल हाम्रो हिमालतिर के भएको हो ?’, वडाअध्यक्ष लामाले चिन्ता व्यक्त गरे, ‘केही समयअघि गत असोज २५ गते सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो ।’




