
उत्तरी गोरखामा दीगो विकासको खाँचो
भौगोलिक रुपमा जटिल रहेको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीलाई केही दिन अघिको बर्षा र त्यसपछि आएको बूढीगण्डकी र स्यारखोलाको बाढीले फेरि दुख दिएको छ । बारम्बार आउने बाढी, पहिरोले थिलोथिलो बनाएको उत्तरी गोरखाका बासिन्दाको खुशी यसपटक फेरि खोसेको हो ।
बूढीगण्डकी बाढीले दोभान लुसिराङ सडक खण्ड फेरि बगाएको छ । यसअघि २५० मिटर बगाएर क्षतिग्रस्त बनाएपछि सडक योजना कार्यालय र धार्चे गाउँपालिकाले खोलाको किनार किनारै अस्थायी सडक निर्माण गरेका थिए । त्याृे पनि बगाएको हो ।
त्यस्तै चुम उपत्यका प्रवेश गर्ने ठाउँको काठेपुल स्यार खोलाले बगाएर पूर्ण रुपमा नष्ट गरेको छ ।
सर्दी भिरको क्याण्टिलिभर पुल उङ्गिलुङको पहिरोपछि आएको बाढीले बगाएपछि आवत जावत ठप्प भएपछि स्थानीयले अस्थायी रुपमा आवतजावत गर्न मिल्ने गरी चार वटा काठेपुल(फड्के) बनाएका थिए । तर केही दिनअघिको बर्षापछिको बाढीले फेरि बगाएर लगेको छ । यसले गर्दा स्थानीयबासी फेरि चिन्तित भएका छन् ।
हिमाली भेगका खोलामा बर्खामा पानी परेर बाढी आउँछन्, हिउँदमा हिउँपहिरोका कारण बाढी आउँछन् । सँधै जोखिम रहने हिमाली भेग सँधै जोखिम र चुनौतिको चपेटामा छन् । त्यसैले ती क्षेत्रका वासिन्दाका लागि अस्थायी र कच्ची संरचना बनाएर सँधै दुखित तुल्याउनु भन्दा दीगो विकासको खाँचो छ ।
स्यार खोलामा फड्के बनाएर खुशी हुनु भनेको अत्यन्त अस्थायी हो । सर्दीभीरमा विस्फोट गराई स्थायी बाटो(सडक) निर्माण गर्नु आवश्यक छ । त्यसका लागि अहिले सरकारका हर्ताकर्ता गृहमन्त्री त्यही क्षेत्रका छन् । त्यसैले त्यसभेगका बासिन्दाले आवाज र माग बुलन्द बनाई दीगो विकासका लागि पहल गर्नुपर्छ । अस्थायी विकास गरेर धेरै हल्ला गर्नुको साँटो पक्की संरचना बनाउनु वुद्धिमानी हुन्छ ।




