
बूढीगण्डकी बाढीमा फसेकाहरुको यसरी हुँदैछ उद्धार
बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तिव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमवारमात्रै ३ सय २१ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जसमध्ये १२ जना बिदेशी पर्यटक छन् ।
‘आइतवारबाटै नेपाली सेनाको तीन वटा हेलिकप्टर उद्धारमा खटिएको छ,’ प्रजिअ मिश्रले भने, ‘जहाँ फसेका छन्, त्यहीबाट हेलिले उनीहरुको उद्धार गरिरहेको छ ।’ उनका अनुसार आइतवार ९ जना बिदेशीसहित ९६ जनाको उद्धार भएको थियो । उत्तरी गोरखाको जगत, दोभान, सल्लेरी, फिलिम लगायतका स्थानबाट उनीहरुलाई उद्धार गरिएको हो । मंगलवार पनि बिहानैदेखि उद्धारका लागि हेलि उडान हुने बताइएको छ ।
उद्धारसँगै राहत वितरणको काम पनि सँगसँगै अघि बढाइएको छ । उद्धारका लागि जाने हेलिकप्टरमा राहतका सामाग्री पठाइएको प्रजिअ मिश्रले बताए । ‘उद्धार गर्न जाने हेलिले यहाँबाट राहतका सामाग्री लान्छ, फर्कदा अलपत्र परेका व्यक्तिहरु लिएर आउँछ,’ प्रजिअ मिश्रले भने । त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर, लत्ताकपडा लगायतका राहत सामाग्री पठाइएको उनले जानकारी दिए ।
उक्त सामग्री बाढीपीडित तथा प्रभावितहरुलाई वितरण समेत भइरहेको उनको भनाइ छ । बिभिन्न संघसंस्थाबाट प्राप्त भएको राहतका सामग्री आरुघाट बजारस्थित कवर्ड हलमा संकलन गरिएको छ । त्यहीबाट एकद्धार प्रणालीमा हेलिले बाढी प्रभावित क्षेत्रमा राहत पु¥याइरहेको छ । सँगै अलपत्र परेकाहरुको उद्धार समेत गरिरहेको छ । सोमवार प्रजिअ मिश्रसहित जिल्लाका सुरक्षा संयन्त्र उद्धार तथा राहत कार्यको निरीक्षणका लागि आरुघाट पुगेका थिए ।




