
कांग्रेस केन्द्रीय उपसभापतिमा पाण्डे, सहमहामन्त्रीमा सतारको उम्मेद्वारी घोषणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फ गोरखाका दुई नेताले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । यस्तै, अर्का केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सत्तारले मुस्लिम क्लस्टरतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन् । पाण्डे र सत्तार दुवै गोरखा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाएर लैजान आफूले उपसभापति पदमा उम्मेदवारी दिएको पाण्डेले स्पष्ट पारेका हुन् ।
मुख्यमन्त्री पाण्डेले पार्टीभत्र र बाहिरबाट कांग्रेसको आन्तरिक एकता तथा सुदृढ संगठन निर्माणको माग निरन्तर उठिरहेको बताए । पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा बाँध्नु आफ्नो प्रमुख प्राथमिकता रहने उनको भनाइ छ ।
तीन पटक केन्द्रीय सदस्य र ४५ वर्षभन्दा बढी समय कांग्रेसको निष्ठावान् कार्यकर्ताका रूपमा काम गरेको अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले युवा पुस्तासँगको सहकार्य र युवामैत्री कार्यशैलीलाई राजनीतिक यात्राको मुख्य आधार बनाउने बताए । ‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ’, उनले भने ।
पार्टी संगठन र सरकार सञ्चालनका क्रममा हासिल गरेको अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार र संवादलाई आगामी राजनीतिक यात्राको मार्गदर्शकका रूपमा लिने उनको भनाइ छ । सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूको साथ र सहयोगबाट आफू उपसभापति पदमा विजयी हुने विश्वाससमेत मुख्यमन्त्री पाण्डेले व्यक्त गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा १ सभापति, ४ उपसभापति, ३ महामन्त्री, १३ सहमहामन्त्री र १ कोषाध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको हो । असोज २२ गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
पदाधिकारीमा गोरखाबाट हालसम्म दुई जनाको उम्मेदवारी देखिए पनि केन्द्रीय सदस्य पदमा भने गोरखाबाट थप धेरै नेताहरू उम्मेदवार बन्ने तयारीमा छन् । त्यसले यसपटकको महाधिवेशनमा गोरखाको राजनीतिक उपस्थिति थप बलियो हुने देखिएको छ ।




