
मनास्लु पर्यटकीय पदमार्ग धमधम मर्मत हुँदै
बर्खायामभर बाढी, पहिरोले क्षतिग्रस्त भएको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मतसम्भार हुन थालेको छ ।
ठूलो बर्षा सकिएको र पर्यटकको सिजन सुरु भएसंगै पदमार्ग मर्मत गर्न थालिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘बेनिघाट, लार्के सडकको कुनै खण्डमा हाइड्रोपावर कम्पनीले काम गरिरेहका छन् । कुनैमा नेपाली सेना र कुनैमा गाउँपालिकाले गरिरहेका छौँ’, लामाले भने, ‘कुनै खण्डमा वडा कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) र होटल व्यवसायी उपसमितिले पनि सहकार्य गरिरहेका छन् ।’ सबैको साथ र सहयोगबाट जगतसम्म जीप र पाङसिङसम्म मोटरसाइकल पुग्न सफल भएको उनको भनाइ छ ।
पहिरोले क्षति भएको चुम उपत्यकाको क्याण्टिलिभर पुल मर्मतका लागि पनि १५ लाख रुपैयाँ विनियोजन गरेको लामाले बताए ।
वडा नं. ३ को न्याकफेदी, पेवा खण्डमा सबैभन्दा धेरै ठाउँमा पदमार्ग भत्किएकोे वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । ‘पहिरोले हाम्रो वडाभित्र मात्रै १२, १३ ठाउँमा बाटो बिगारेको छ’, उनले भने, ‘वडा कार्यालयको नेतृत्वमा एमक्याप, होटल व्यवसायी उपसमिति मिलेर काम गरिरहेका छौँ । अब सबै ठाउँमा खच्चड हिँड्न सक्ने भएको छ । विदेशी पर्यटक पनि सरासर हिड्न सक्ने भएका छन ।’
खोलाले लगेका काठे, फलामे पुलहरु पनि स्थानीयहरु मिलेर फेरि बनाएका छन् । मौसम खुलेसंगै अहिले मनास्लु पदमार्गमा दैनिक करिब दुईसय जना पर्यटक प्रवेश हुने गरेका गाउँपालिकाबाट प्रवेश शुल्क संकलन गर्न खटिएका कर्मचारी विशाल घलेले जानकारी दिए ।
पछिल्ला बर्षहरुमा मनास्लु पर्यटकीय पदमार्ग विदेशी पर्यटकको रोजाइमा छ । गत आर्थिक बर्षमात्र १६ हजार ६७१ जना विदेशी पर्यटकले भ्रमण गरेका मनास्लु क्षेत्रमा यो वर्ष २० हजार भन्दा धेरै पर्यटक आउने अनुमान मनास्लु संरक्षण क्षेत्र आयोजनाको छ ।




