
बर्षाको इपिसेण्टर गण्डकी र लुम्बिनी : सचेत रहन आग्रह
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली अहिले थप शक्तिशाली बनेर ‘डिप डिप्रेसन’ मा परिणत भएको छ । ‘डिप डिप्रेसनमा परिणत भयो’ भन्नुको अर्थ न्यूनचापीय प्रणाली अझ बलियो भयो भन्ने बुझिन्छ । यो प्रणाली बुधबार राति वा बिहीबार बिहान जमिनी तहमा प्रवेश गर्ने सम्भावना रहेको उनले बताए ।
दाहालले भने, ‘आज राति वा भोलिबाट जमिनमा आउन सक्छ ।’ उनका अनुसार बिहीबार बिहानसम्म वर्षा धेरै सक्रिय नहुने भए पनि दिउँसोपछि बढ्दै जानेछ । ‘बिस्तारै–बिस्तारै पूर्वतिरबाट पानी पर्ने अनि मध्याह्नपछि कोशी, बागमती, गण्डकी हुँदै लुम्बिनीसम्म पर्न सक्छ’, उनले भने ।
बिहीबारदेखि देशका धेरैजसो स्थानमा वर्षा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको दाहालले बताए । ‘यसको बढी प्रभाव ठ्याक्कै मध्य नेपाल अर्थात गण्डकी र लुम्बिनी क्षेत्रतिर पर्ने देखिन्छ ।’ महाशाखाको प्रारम्भिक पूर्वानुमान अनुसार प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ ।
पछिल्लो अद्यावधिक अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनीका १५ जिल्लामा प्रतिकार्यका लागि तयारी गर्न भनेको छ । २९ जिल्लामा भने सतर्क रहन आग्रह गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणले अत्यन्त जरूरी नभई टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलाई आमनागरिकलाई सुसूचित गर्न तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले आग्रह गरेको छ । जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिम भएका स्थान र नदी–खोला किनारका बासिन्दालाई विशेष चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ ।
सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलाई आमनागरिकलाई सुसूचित गर्न तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले पनि विज्ञप्ति जारी गर्दै यो अवधिमा कुनै पनि बहानामा नदी, खोला, तटीय क्षेत्र, ताल तथा डुबान हुन सक्ने स्थानमा नजान आग्रह गरेको छ । त्यस्तै. बाढ़ी, पहिरो तथा डुवानको उच्च जोखिम भएका क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरू उच्च सतर्कताका साथ सुरक्षित स्थानमा स्थानान्तरण हुन आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ ।
त्यावश्यक काममा बाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्दा मौसम र सड़क अवस्थाबारे जानकारी लिन,. पहिरोको जोखिम भएका सड़क तथा बस्तीमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ । विद्युत् टेलिफोन तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा सम्बन्धित निकायलाई तत्काल जानकारी दिन, कुनै विपद्का घटना भएमा तत्काल नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न पनि सूचित गरेको छ ।
अफवाह फैलाउने वा अपुष्ट सूचनाको विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र लिन र दिन सूचित गरेको छ ।




