
जलवायू परिवर्तनको दुस्प्रभावः भारी बर्षा र हिमपातका कारण आरोहीहरु मनास्लु आरोहण नगरी फर्किँदै
दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरु धमाधम घर फर्किन थालेका छन् । निरन्तर बर्सात र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरु हिमालै नचढी धमाधम फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
अहिले मनास्लु आधार शिविरमा अविरल बर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरुमा भारी हिमपात भइरहेको छ । पाँच फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरुले बताएका छन् । ‘यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी पनि परिरहेको छ । हिउँ पनि परिरहेको छ । चार जनाको त मृत्यू नै भइसक्यो’, वडाअध्यक्ष लामा भन्छन्, ‘झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोहीहरु धमाधम फर्किरहेका छन् ।’ कोही फर्केर काठमाडौं गइसकेका, कोही विभिन्न क्याम्पबाट झरिरहेका र कोही सामागाउँमा पुगेर बसेका उनले बताए ।
मौसम अनूकुल भएपछि फेरि आरोहण गर्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ । ‘कसैको भिसा सिद्धिएको हुन्छ । आफूमात्र गएर भएन । सरसामान लैजानु पर्छ, गाइड, शेर्पा लैजानुपर्छ । त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन’, उनले भने ।
सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा बिगत दुईसातादेखि निरन्तर पानी परिरहेको त्यहाँबाट प्रबल लामाले जानकारी दिए । साथै हिमपात भएर बाहिर निस्कनै नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘म बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र बर्षको अवधिमा यस्तो कहिल्यै देखिन’, उनले भने, ‘यो बर्ष त पानी पनि नन्स्टप परिरहेको छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ ।’ जोखिम देखेर आरोहीहरु फर्किरहेको उनको भनाइ छ । ‘झण्डै ५० प्रतिशत आरोहीहरु फर्किए होलान्’, उनले भने ।
आरोहीहरु धमाधम फर्किए पनि ठूलो संख्यामा भने नफर्केको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउँछन् । ‘हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला’, उनले भने, ‘अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।’
८,१६३ मिटर मनास्लु आरोहण गर्न यो सिजनमा सँधैभन्दा धेरै करिब पाँचसय आरोहीले मनास्लु आरोहण गर्न अनुमति लिएका थिए । गतबर्ष ४१० जनाले अनुमति लिएकामा यसबर्ष ४९३ जनाले आरोहण अनुमति लिएका थिए । विभिन्न ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । उनीहरुबाट सरकारलाई २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ ।




