
आन्तरिक आयले आत्मनिर्भर बन्ने धार्चे मोडल
विकट भौगोलिक अवस्थितिमा रहेको धार्चे गाउँपालिकाले अहिले जलविद्युतबाट आन्तरिक आय वृद्धि गर्न थालेको छ । गाउँपालिकाभित्र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाबाट पालिकाले धमाधम आन्तरिक आम्दानी गर्न थालेको हो ।
उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठानहरु नरहेको, महत्वपूर्ण उत्पादन, खानी तथा अन्य व्यपारिक केन्द्रहरु पनि नहुँदा आन्तरिक आय अत्यन्त न्यून रहेको सो पालिकाले यसबर्षदेखि जलविद्युत आयोजनाबाट आन्तरिक आय बढाउन थालेको हो ।
अरु पालिकाभन्दा पृथक धार्चे गाउँपालिका जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेको पालिका हो ।
यहाँ करिब एकदर्जन जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् । अहिले अपर माछाखोला जलविद्युत आयोजना, अपर रिचेतखोला जलविद्युत आयोजना र रिचेतखोला जलविद्युत आयोजना सञ्चालनमा छन् । यी तीनैवटा जलविद्युत आयोजना साना क्षमताका हुन् । साना क्षमताका ती तीन जलविद्युत आयोजनाबाट पनि पालिकाले यो बर्ष १५ लाख रुपैयाँ आन्तरिक आय आर्जन गरेको हो ।
धार्चेले ४.५५ मेगावाटको अपर माछाखोला जलविद्युत आयोजनाबाट पहिलोपल्ट ११ लाख ८६ हजार २४५ रुपैयाँ आम्दानी गरेको छ । विकास हाइड्रोले सञ्चालन गरेको अपर माछाखोला जलविद्युत आयोजना २०७९ फागुनबाट उत्पादन सुरु गरेको थियो ।
त्यस्तै धार्चेले रिचेतखोला जलविद्युत आयोजनाबाट २ लाख ९६ हजार ६९० रुपैयाँ आम्दानी गरेको छ । धार्चेको वडा नं. ६ यार्सा र आरुघाट गाउँपालिका १ को सीमा भएर बग्ने रिचेतखोलाबाट रिचेतखोला जलविद्युत कम्पनीले २०७८ साउनदेखि ५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न थालेको थियो ।
त्यस्तै धार्चेले अपर रिचेतखोला जलविद्युत आयोजनाबाट ३७ हजार ५४२ रुपैयाँ राजस्व आम्दानी गरेको छ । अमूल्य इन्फ्रास्टक्चर कम्पनीले रिचेत खोलाबाट २०८१ सालबाट २ मेगावाट क्षमताको विद्युत उत्पादन सुरु गरेको थियो । जलविद्युत आयोजनाबाट उठ्ने कूल राजस्व रकमको ५० प्रतिशत संघीय सरकारले आम्दानी गर्छ भने प्रदेश सरकार र स्थानीय सरकारले २५–२५ प्रतिशत रकम मात्र पाउने व्यवस्था छ ।
आर्थिक उदारवादको नीति अवलम्बन भइरहेको वर्तमान अवस्थामा लगानीमैत्री वातावरण बनाउने धार्चेको नीति प्रसंसनीय छ । यहाँ दुईसय, तीनसय मेगावाटका जलविद्युत आयोजना पनि बन्दैछन् । ती आयोजनाबाट पालिकाले करोडौँ आम्दानी गर्नेछ ।
स्थानीय सरकार परनिर्भर नहोस्, आन्तरिक आयबाट आत्मनिर्भर होवस् भन्ने नीति हो । यसरी नै आन्तरिक आय वृद्धि गर्दै गएमा गोरखाका पालिकाहरुमध्य धार्चे आत्मनिर्भर बन्न सक्छ ।
अरु पालिकाहरुले पनि आफ्ना पालिकाभित्र रहेका सम्भावनाहरुलाई सञ्चालनमा ल्याएर आन्तरिक आय बढाउने र आत्मनिर्भर बन्नेतर्फ ध्यान दिनु आवश्यक छ ।




