| मङ्लबार, अशोज ५, २०८३

उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न शिक्षकहरुले दिए आफ्नै तलबबाट पुरस्कार

गोरखाको एक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शिक्षकहरुले आफ्नो तलबबाट पैसा उठाएर पुरस्कार दिएका छन् । जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ३ तान्द्राङको संस्कृत माविका प्रधानाध्यापक भगवान शाक्य र शिक्षकहरुले पैसा उठाएर विद्यार्थीहरुलाई नगद पुरस्कार दिएका हुन् ।

पढाइमा उत्तीर्ण भएका तथा खेल क्षेत्रमा राम्रो गरेका विद्यार्थीहरुलाई आफ्नो नीजि गोजीबाट नगद पुरस्कार दिएको प्रअ शाक्यले बताए । उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्न प्रअ शाक्यबाट ४५ हजार ५००, विद्यालयका शिक्षकहरु कृष्ण अधिकारीबाट १८ हजार, लिलाधर भट्टबाट १० हजार, सुष्मा तिवारीबाट तीनहजार र सिताराम सिर्मलबाट रु २६ सय गरी ७९ हजार एकसय रुपैँया संकलन भएको थियो ।

उक्त रकमबाट शैक्षिक सत्र २०८२ का उत्कृष्ट विद्यार्थी, सदन नेता तथा उपनेता र विद्यालयको कक्षा इसिडीदेखि १२ सम्मका अनुशासित विद्यार्थीहरुलाई सम्मान गरिएको प्रअ भगवान शाक्यले जानकारी दिए । उनका अनुसार विद्यालयले कक्षा ८ र १२ को परीक्षामा सतप्रतिशत नतिजा ल्याएका विद्यार्थीहरु विषयगत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु र राष्ट्रिय स्तरमा विद्यालयको प्रतिनिधित्व गरेका खेलाडीहरुलाई सम्मान गरेको छ ।

‘इसिडीदेखि १२ कक्षासम्म कक्षाको अनुशासित विद्यार्थीहरुलाई ५००, उत्कृष्ट सदन नेतालाई एकहजार, कक्षा ८ मा सतप्रतिशत नतिजा ल्याएकाहरुलाई प्रतिविद्यार्थी एकहजार र कक्षा १२ मा सतप्रतिशत नतिजा ल्याएकाहरुलाई दुईहजारका दरले नगद तथा प्रमाणपत्र दिएका हौँ’, शाक्यले भने, ‘म प्रधानध्यापकको पद बहाली गर्दै गर्दा विद्यार्थीहरुलाई पास भयौ भने आफ्नै तलबबाट नगद पुरस्कार दिन्छु भनी प्रतिबद्धता जनाएको थिएँ । अहिले त्यही प्रतिबद्धता पूरा गरेको हुँ ।’

विद्यालयले विषयगत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एकहजार र विद्यार्थी प्रोत्साहन शीर्षकमा प्रतिविद्यार्थी रु २५ सय ५५ रुपैँया वितरण गरेको छ ।

अभिभावक र उत्कृष्ट कक्षा शिक्षक पुरस्कृत
संस्कृत मावि तान्द्राङले विद्यालयमा निरन्तर सम्पर्क राख्ने र आफ्ना बालबालिकाहरुको पढाईप्रति चासो राख्ने दुईजना अभिभावकहरुलाई उत्कृष्ट अभिभावकको पुरस्कार प्रदान गरेको छ । विद्यालयका अभिभावकहरु नन्दकुमारी बञ्जरा र परशुराम लामिछाने उत्कृष्ट अभिभावक बनेका हुन् ।

उनीहरुलाई रु दुईहजारका दरले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ । साथै, विद्यालयले दुईजना शिक्षकहरुलाई उत्कृष्ट कक्षा शिक्षक पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्