
धार्चेले कमाउन थाल्यो विद्युत रोयल्टी
विद्युत उत्पादनका दृष्टिले धनी मानिएको धार्चे गाउँपालिकाले यसबर्षदेखि विद्युत रोयल्टीबाट आम्दानी गर्न सुरु गरेको छ ।
पहिलो बर्ष आर्थिक बर्ष २०८१/०८२ को रोयल्टी लिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
धार्चे गाउँपालिकाको क्षेत्रभित्र तीनवटा जलविद्युत आयोजना निर्माण भइसकेका छन् । अपर माछाखोला जलविद्युत आयोजना, अपर रिचेतखोला जलविद्युत आयोजना र रिचेतखोला जलविद्युत आयोजना सञ्चालनमा छन् । धार्चेले ४.५५ मेगावाटको अपर माछाखोला जलविद्युत आयोजनाबाट पहिलोपल्ट ११ लाख ८६ हजार २४५ रुपैयाँ आम्दानी गरेको छ ।
विकास हाइड्रोले सञ्चालन गरेको अपर माछाखोला जलविद्युत आयोजना २०७९ फागुनबाट उत्पादन सुरु गरेको थियो । त्यस्तै धार्चेले रिचेतखोला जलविद्युत आयोजनाबाट २ लाख ९६ हजार ६९० रुपैयाँ आम्दानी गरेको छ । धार्चेको वडा नं. ६ यार्सा र आरुघाट गाउँपालिका १ को सीमा भएर बग्ने रिचेतखोलाबाट रिचेतखोला जलविद्युत कम्पनीले २०७८ साउनदेखि ५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न थालेको थियो ।
त्यस्तै धार्चेले अपर रिचेतखोला जलविद्युत आयोजनाबाट ३७ हजार ५४२ रुपैयाँ राजस्व आम्दानी गरेको छ । अमूल्य इन्फ्रास्टक्चर कम्पनीले रिचेत खोलाबाट २०८१ सालबाट २ मेगावाट क्षमताको विद्युत उत्पादन सुरु गरेको थियो । रिचेतखोला र अपर रिचेतखोला जलविद्युत आयोजनाबाट आरुघाट गाउँपालिकाले पनि आम्दानी गर्ने गरेको छ । ५ मेगावाटको रिचेतखोला जलविद्युत आयोजनाबाट आरुघाटले एकलाख ७८ हजार रुपैयाँ राजस्व कमाएको छ । त्यस्तै अपर रिचेतखोला जलविद्युत आयोजनाबाट ६२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
जलविद्युत आयोजनाबाट उठ्ने कूल राजस्व रकमको ५० प्रतिशत संघीय सरकारले आम्दानी गर्छ भने प्रदेश सरकार र स्थानीय सरकारले २५–२५ प्रतिशत रकम मात्र पाउने व्यवस्था छ ।




