| सोमवार, अशोज ४, २०८३

मनास्लु बेसक्यापको अनसन स्थगित

मनास्लु बेसक्यापमा विगत तीन दिनदेखि युवाहरुले गरेको आमरण अनसन स्थगित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि अनसन स्थगीत गरिएको दावा नुर्बु लामाले बताए । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र एमक्यापले उनीहरुलाई वार्ता र संवादद्धारा माग पुरा गर्ने व्यहोराको पत्र पठाएको थियो । सोही अनुसार अनसन स्थगित गरी मनास्लु बेसक्यापबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा दावा नुर्बु लामाले जानकारी दिए ।

जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनिकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गत शुक्रबारबाट उनीहरु आमरण अनसनमा बसेका थिए । सामागाउँका ३६ बर्षीय दावानोर्वु लामाको नेतृत्वमा ३९ बर्षीय निमा छिरिङ लामा, २५ बर्षका लेक्ष्य लामा, २७ बर्षका पासाङ नोर्बु लामा, २६ बर्षका छिरिङ फुञ्सोक लामा, २९ बर्षका टासी डुण्डुप लामा, २८ बर्षका छेवाङ घ्यूर्मे लामा, २३ बर्षका छेवाङ बाबा लामा, २८ बर्षका कर्मा छिरिङ लामा, २९ बर्षका पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ बर्षका पेम्बा गुरुङ शुक्रबारदेखि अनसनरत्त थिए ।

आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशले पत्र पठाउँदै आमरण अनसन र युवाहरुले राखेको मागप्रति प्रदेशको गम्भीर घ्यानाकर्षण भएको जनाएको थियो । ‘तपाईँहरुले प्रस्तुत गर्नुभएको हिमताल तथा हिमनदीको जोखिम अध्ययन, सम्भावित ग्लोफ तथा बाढीबाट सुरक्षा, पूर्वसूचना प्रणाली तथा साइरन जडान, सुरक्षित बस्ती व्यवस्थापन, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव न्यूनिकरणलगायत विषयहरु संवेदनशील तथा जनसुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले प्रदेश सरकार यसप्रति गम्भीर रहेको छ’, कार्यालयको पत्रमा भनिएको थियो ।

अनसनमा उठान भएका मागहरु नृेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समेत समन्वय गरी यथोचित सम्बोधन गर्न÷गराउन गण्डकी प्रदेश सरकार सकारात्मक रहेको उल्लेख थियो । वार्ताका माध्यमबाट तीनै तहको सरकार र नागरिक समाजको सक्रियतामा मागहरु सम्बोधन गर्नु उपयोक्त हुने भन्दै गण्डकी प्रदेशले उनीहरुलाई तत्काल आमरण अनसन स्थगन गर्न अनुरोध समेत गरेको थियो ।

एमक्यापले पनि अनसनबाट फिर्ता भई वार्ता र संवादबाट माग पूरा गर्न तयार रहन युवाहरुलाई अनुरोध गरेको थियो । विषयको गाम्भीर्यतालाई मनन गरी एमक्यापले सम्बन्धित निकायसंग निरन्तर सम्पर्क तथा संवादमा रहिआएको भन्दै माग सम्वोधनको वातावरणका लागि समन्वय गर्न पहल गरिरहेको बताएको थियो । साथै, एमक्यापले हिमताल जोखिम, जलस्रोत सुरक्षा र प्रारम्भिक चेतावनी प्रणालीसम्बन्धी विषयहरू सम्वोधनका लागि सम्बन्धित निकायहरूसंग समन्वय, संवाद गर्ने र दिर्घकालीन कार्यक्रम बनाउन पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

‘तपाईहरूको स्वास्थ्य र सुरक्षाप्रति हामी अत्यन्तै संवेदनशील हुँदै कतिपय सवालहरू स्थानीय स्तरवाट, केही राष्ट्रिय र केही अन्तर्राष्ट्रिय स्तरवाट गर्नुपर्ने विषय भएकाले सोही अनुसार विषयहरुको समाधानका निमित्त सहकार्य एवं साझा पहल गर्न एमक्याप प्रतिवद्ध रहेको बिषय जानकारी गराउदै अनसन फिर्ता लिनको निमित्त अनुरोध गर्दछौ’, एमक्यापले भनेको छ । साथै हिमाली समुदाय र हिमालको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

हिमाली गाउँबस्ती भन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिदै गएको, वीरेन्द्रताल लगायत हिमतालहरुमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, यसको सम्भावित जोखिमबाट बचाउन गाउँबस्तीमा साइरन जडान गर्नु पर्ने, हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायू परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै ११ जना युवाहरु अनसनमा थिए ।

त्यसैगरी भविष्यमा हिमताल विस्फोट हुनसक्ने जोखिमको अध्ययन हुनुपर्ने, चीन र नेपालको सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी हुनुपर्ने, विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान नभए पनि दुश्प्रभाव भोगिरहनु परेकाले जलवायु क्षतिपूर्ति र न्याय पाउनु पर्नेलगायतका माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्