
गोरखाको बोलेरो दुर्घटनामा एकको मृत्यू, सातजना घाइते
जिल्लाको सिरानचोक गाउँपालिका २ थालाजुङमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यू भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नंबरको महिन्द्राजीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ बर्षीया लालमाया गुरुङको मृत्यू भएको वडाअध्यक्ष खुसीमान गुरुङले जानकारी दिए ।
दुर्घटनामा परेर सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सो दुर्घटनामा सिरानचोक ७ का ६८ बर्षीय कमलबहादुर घिमिरे घाइते भएका छन् । उनी गम्भीर घाइते भएका प्रहरीको भनाइ छ । सोही ठाउँका ४८ बर्षकी सीता पाण्डे, ४८ बर्षका लोकबहादुर खड्का घाइते भएका प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोही ठाउँका ७३ बर्षका कुल बहादुर सार्की, वडा नं. ६ सिम्लेका ६८ बर्षकी सिता गुरुङ वडा नं. ७ डाँडागाँउकी २७ बर्षकी रोजिना नेपाली र उनकै दुईबर्षकी छोरी रेविका नेपाली घाइते भएका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरु सबैको प्रदेश अस्पताल आँपपिपलमा उपचार भएको छ । जीप चालक विकास गुरुङ प्रहरीको नियन्त्रणमा रहेको डिएसपी श्रेष्ठले बताए ।




