| आइतवार, अशोज ३, २०८३

मनास्लु बेसक्यापमा भारी हिमपातभित्र आमरण अनसन

गोरखाका ११ जना युवाहरु जलवायू परिवर्तनको दुस्प्रभावबाट बचाउन माग गर्दै हिउँभित्र अनसन बसिरहेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका १० र वडा नं ७ चुमका एक युवा ४९०० मिटर उचाइमा अवस्थित मनास्लु बेसक्याम्पमा अनसन बसेका हुन् ।

शुक्रबार दिउसो १२ बजेदेखि अनसन बसेको दावा नोर्बु लामाले बताए । अनसन बसेदेखि निरन्तर हिउँ परेर कष्टकर भएको उनले जानकारी दिए । ‘हिजो दिउँसो तीनबजेदेखि निरन्तर हिउँ परिरहेको छ । अहिलेसम्म तीन, साढे तीन फिट हिउँ परिसकेको छ’, अनसनको नेतृत्व लिइरहेका दावा नोर्बुले भने, ‘राती पालभित्र बसियो, तर रातैभरि हिउँ फालिरहनु परेको छ । धेरै गारो भयो ।’ आफूहरु शनिबार मनास्लु बेसक्यापभन्दा १०० मिटरमाथि आएर अनसनमा बसेको उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरु आमरण अनसनमा बसेका हुन् । सामागाउँ क्षेत्रमा गाउँबस्ती भन्दा माथि धेरै नयाँ हरिया तालहरु थपिदै गएको, वीरेन्द्रताल लगायत हिमतालहरुमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, यसको सम्भावित जोखिमबाट बचाउन गाउँबस्तीमा साइरन जडान गर्नु पर्ने, हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायू परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका मागहरु उनीहरुको छ ।

त्यसैगरी भविष्यमा हिमताल विस्फोट हुनसक्ने जोखिमको अध्ययन हुनुपर्ने, चीन र नेपालको सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी हुनुपर्ने, विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान नभए पनि दुश्प्रभाव भोगिरहनु परेकाले जलवायु क्षतिपूर्ति र न्याय पाउनु पर्नेलगायतका माग अनसनकर्ताले राखेका छन् ।

सामागाउँका ३६ बर्षीय दावानोर्वु लामा, ३९ बर्षीय निमा छिरिङ लामा, २५ बर्षका लेक्ष्य लामा, २७ बर्षका पासाङ नोर्बु लामा, २६ बर्षका छिरिङ फुञ्सोक लामा, २९ बर्षका टासी डुण्डुप लामा, २८ बर्षका छेवाङ घ्यूर्मे लामा, २३ बर्षका छेवाङ बाबा लामा, २८ बर्षका कर्मा छिरिङ लामा, २९ बर्षका पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ बर्षका पेम्बा गुरुङ आमरण अनसन बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्