| आइतवार, अशोज ३, २०८३

पालुङटारमा भूमि प्रशासन सेवा सुरु

जिल्लामै पहिलो पटक पालुङ्टार नगरपालिकामा भूमि प्रशासन सेवा सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णयअनुसार भूमि प्रशासन सेवा सञ्चालको सबै तयारी पूरा भएपछि शुक्रबारदेखि सेवा सुरु गरेको नगरपालिकाकी उपमेयर वन्दना पाण्डेले जानकारी दिइन् । नगरपालिकाले औपचारिक समारोह आयोजना गरी भूमि प्रशासन सेवाको सुरुवात गरेको हो । नगरपालिकाको पुरानो प्रशासकीय भवनमा भूमि प्रशासन कार्यालय सञ्चालन गरेको उपप्रमुख पाण्डेले बताइन् । भूमि प्रशासन अधिकृत र केही कर्मचारीको व्यवस्था गरेर सेवा सुरु भएको उनको भनाइ छ ।

पालुङ्टारबाटै भूमि प्रशासन सेवा उपलब्ध भएपछि नगरवासीले सो सेवा लिन जिल्ला सदरमुकाम जानु नपर्ने भएको छ । साथै अतिरिक्त समय र पैसाको पनि वचत हुने उपप्रमुख पाण्डेले जनाइन् । सेवा सुरु भएपछि पालुङटार नगरपालिकाका ११ हजार ७२ घरधुरीका ३७ हजार ४०९ जनसंख्या लाभान्वित हुनेछन् । यस सेवाले नगरबासीलाई संघीयताको प्रत्याभूति गराउने पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताएका छन् ।

स्थानीय तहबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउन सकिने भन्ने नेपाल सरकारको गत वैशाख १० गतेको निर्णयअनुसार पालुङटारले भूमि सेवा सञ्चालन गरेको हो । स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने पालुङटार नगरपालिका गण्डकी प्रदेशको दोस्रो नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्