
यो सिजनको मनास्लु आरोहण सुरु
शरद ऋतुमा सवैभन्दा धेरै आरोहीले आरोहण गर्ने मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो सिजनमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४८० जना आरोहीहरुले गत मंगलबारदेखि आरोहण सुरु गरेका हुन् ।
४० समूहका ३५४ जना पुरुष र १२६ जना महिलाहरु आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् । आधार शिविरमा लामा गुरुले पूजा आजा गरेर साइत गरेका आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए । उनीहरुले अबको दुईदेखि तीन हप्ताको अवधिभित्र आरोहण गरिसक्ने उनले बताए ।
यो सिजनमा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरुबाट २१ करोड ८८ लाख ४३ हजार रुपैयाँ राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो संख्या अहिलेसम्मकै धेरै हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।
गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ बाट आरोहण गर्न सुरु गरिएको थियो ।
समुद्री सतहबाट ८,१६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो ।




