| बुधबार, भदौ ३०, २०८३

ग्यास सिलिण्डर फिर्ताले जगाएको आशा

प्राकृतिक विपत्तिले जनजीवन ध्वस्त पारेका दुःखद खबरहरूसँगै कहिलेकाहीँ मानव चेतना र सामाजिक सञ्जालमा देखिने दृश्यहरूले झन् ठूलो चोट पु¥याउँछन् । गत भदौ १० गते ल्हेन्दे खोला र भोटेकोशी हुँदै त्रिशुलीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा अभूतपूर्व विनाश निम्त्यायो ।

हजारौँ नागरिकको हताहती, घरबासको विनाश, धनमाल र चौपायाको क्षतिले सिर्जना गरेको त्रासदी कुनै शब्दमा सीमाबद्ध गर्न सकिँदैन । यो दर्दनाक दृश्यले देश–विदेशमा रहेका हरेक नेपाली र संवेदनशील अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनायो ।
विपत्तिको यो कहालीलाग्दो मोडमा सामाजिक सञ्जालमा देखिएका केही अमर्यादित दृश्यहरूले भने झनै लज्जित तुल्याए ।

बाढीमा तैरिरहेका शवहरूको उद्धार गर्नुको साटो उनीहरुका गरगहना लुछ्ने र बगेर आएका ग्यास सिलिन्डरहरूमाथि लुछाचुँडी गर्ने दृश्यले नेपाली समाजको मानवीय संवेदना हराएको हो कि भन्ने लज्जाजनक भाव पैदा ग¥यो । नेपालीहरू सरल, असल र सहयोगी हुन्छन् भन्ने विश्वव्यापी पहिचानमाथि यस्ता गैरजिम्मेवार र घृणित हर्कतहरूले ठूलो धक्का पु¥यायो ।

तर, अँध्यारोभित्रै आशाको उज्यालो किरण पनि छिट्टै देखा परेको छ । सहिदलखन गाउँपालिका ३ ठेउवाटारका केही सचेत युवाहरूले देखाएको उदाहरणीय कदमले समाजमा पुनः मानवताको दियो बालेको छ । त्रिशुली किनारमा भेटिएका ग्यास सिलिन्डरहरू ती युवाहरुले प्रहरी र स्थानीय जनप्रतिनिधिलाई साक्षी राखी सम्बन्धित निकाय र पीडितसम्म पु¥याउन फिर्ता गर्ने व्यवहारले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

युवाहरूले देखाएको यो सद्वुद्धि र इमानदारिताले अघिल्ला दृश्यहरूबाट उत्पन्न निराशा र घृणालाई चिर्न ठूलो मद्दत पु¥याएको छ । यो कदम केवल सिलिन्डर फिर्ता गर्ने कार्यमा मात्र सीमित छैन, यसले भत्कँदै गएको सामाजिक नैतिक धरातललाई पुनः जोड्ने काम गरेको छ । संकटको बेला देखाउनुपर्ने असली नेपालीपन यही हो ।

आशा छ, यी युवाहरूको निस्वार्थ र जिम्मेवार कदमले देशभरका अन्य युवाहरूलाई पनि विपत्तिको समयमा संयमित, दयालु र सहयोगी बन्ने प्रेरणा दिनेछ । हराउँदै गएको मानवीय मूल्य मान्यतालाई जोगाउन र संकटका बेला एकअर्काको सहारा बन्न यस्तै असल चेतनाको निरन्तर विस्तार हुनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्