| मङ्लबार, भदौ २९, २०८३

त्रिशुलीले बगाई ल्याएका ३० थान ग्यास सिलिण्डर फिर्ता

गत भदौ १० गते र १४ गतेको त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन् । सहिदलखन गाउँपालिका ४ ठेउवाटारका युवाहरुले त्रिशुली किनारबाट संकलन गरेका ती सिलिण्डर वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन् ।

फिर्ता गरिएका ती सिलिण्डर ठेउवाटारको एक घरमा सुरक्षित गरी राखिएको वडाअध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।
संकलित ३० वटा सिलिण्डरमध्ये १० थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिए ।
साथै त्रिशुली किनारका युवाहरुले तीनथान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन् ।

त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयबासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो । संकलन भएका सबै सिलिण्डर नुवाकोटस्थित होल्डिङ सेण्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाअध्यक्ष थापाको भनाइ छ ।

तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोरखा, तनहूँ, चितवन लगायतका विभिन्न जिल्लाहरुमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ । ‘गोरखामा मात्र होइन, अन्य जिल्लाहरुमा पनि यस्ता प्रकृतिका सिलिण्डर संकलन भएका छन्’, गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘सबैलाई फिर्ता गर्ने कुनै नीति निर्देशन आउला । त्यहीबमोजिम हुने छ ।’

प्रतिक्रिया दिनुहोस्