
सरकारी सहुलियतको चिनी नआउँदा गोरखाका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य
चाडपर्व नजिकिँदै गर्दा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले चिनी आपूर्तिका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिएको छ । तर गोरखामा यी दुवै सरकारी व्यापारिक निकायले चिनी आपूर्ति नगर्दा उपभोक्ताहरु महंगो मूल्य चुकाउन बाध्य छन् ।
चाडपर्व नजिकिँदै गर्दा सरकारले बजारमा चिनीको सहज आपूर्तिको लागि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १ प्रतिशतमात्र भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । निर्णय गरेको १० दिन बितिसक्दा पनि भन्सार सहुलियतको चिनी गोरखामा आउन नसकेको हो ।
सहुलियतको चिनी नआउँदा प्रतिकिलो रु ११५ मा किनबेच हुने गरेको चिनीलाई गोरखाका उपभोक्तहरु रु १४० तिर्न बाध्य छन् । चिनीको अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि बढेको गोरखा बिजनेस सेण्टरका मनकाजी श्रेष्ठ बताउँछन् । ‘महंगो भन्सार तिरेर ल्याउनु पर्दा चिनीको भाउ बढेको हो’, उनी भन्छन्, ‘भन्सार सहुलियत पाएको साल्ट ट्रेडिङको चिनी आएको भए ग्राहकले सस्तो पाउँथे । हामीले ल्याउँदा महंगो भन्सार तिरेर ल्याउनु परेको छ । अनि ग्राहकको हातमा पुग्दा पनि महंगिनु स्वभाविकै हो ।’
५० किलोको बोरामा प्रतिकिलो रु १२०० बढेको उनको भनाइ छ । ‘हामीले पहिले प्रतिबोरा पाँच हजार रुपैयाँमा ल्याउँथ्यौँ । अहिले प्रतिबोरा छ हजार पर्छ’, उनी भन्छन्, ‘अनि खुद्रा पसलमा पुग्दा प्रतिकिलो रु २५ का दरले बढेर पुग्छ ।’ बजारमा कसैले प्रतिकिलो रु १३५, कसैले प्रतिकिलो रु १४० मा बेच्ने गरेको उनले बताए । गोरखामा साल्ट ट्रेडिङका दुईजना अधिकृत विक्रेता छन् ।
आफूले चिनी ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति ल्याइसकेको अधिकृत विक्रेता प्रकासचन्द्र श्रेष्ठ बताउँछन् । ‘सिडिओ कार्यालयबाट अनुमति लिइसकेको छु । बजारको माग कति हो भनेर सर्भे गर्दैछु । अब एक, दुई दिनमा ल्याउँछु’, श्रेष्ठ भन्छन्, ‘मैले ल्याएपछि फेरि उपभोक्ताले प्रतिकिलो रु ११५ मा चिनी पाउँछन् ।’
तर आफूले अध्ययन र सरसल्लाह गर्न बाँकी नै रहेको साल्ट ट्रेडिङका अर्का अधिकृत विक्रेता अयोध्या जोशी बताउँछन् । ‘बजारको मागको अध्ययनबिना लगानी गर्ने कुरा भएन’, जोशी भन्छन्, ‘त्यसैले अर्का अधिकृत विक्रेताले गरेको आपूर्तिको सापेक्षतामा सरसल्लाह गरेर म पनि ल्याउँछु ।’ अधिकृत विक्रेता तथा थोक विक्रेताहरु बीच सरसल्लाह चलिरहँदा तिज पर्व सकिन लागेको छ ।




