
किरण बने बराम समुदायबाट पहिलो उपसचिव
गोरखाका किरण बराम अतिसीमान्तकृत बराम समुदायबाट पहिलो उपसचिव बन्न सफल भएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट उनी उपसचिव पदमा सिफारिस हुन सफल भएका हुन् । यसअघि २०७५ सालदेखि मानव अधिकार आयोगको शाखा अधिकृत तहमा रहेर काम गरिरहेका बराम अहिले गण्डकी प्रदेश सरकारको उपसचिव बन्न सफल भएका हुन् ।
भीमसेनथापा गाउँपालिका १ मसेल गोरखाका किरण आफ्नो समुदायमा उपसचिव तहसम्म पुग्न सफल पहिलो व्यक्ति हुन् ।
उनी यसअघि मानव अधिकार आयोगको वातावरण र विकास सम्पर्क अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका थिए । सो समयमा उनले वातावरण प्रदूषण र मानव अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन २०७६ प्रकाशन गरेका थिए ।
त्यस्तै उनले व्यवसायीहरुको मानव अधिकारका संपर्क अधिकृत, अपांग भएका व्यक्तिहरुको अधिकारको सम्पर्क अधिकृत र एचआईभी भएकाहरुको मानव अधिकारसम्बन्धी संपर्क अधिकृतको कार्यभार पूरा गरिसकेका छन् । उनले कोभिड १९ महामारीमा कैदी बन्दीहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन २०७७, घुमन्ते फिरन्ते राउटे समुदायको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन २०८१ पनि प्रकाशन गरेका छन् ।
त्यस्तै अल्पसंख्यक चेपाङ समुदायको मानव अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन २०८२, ज्येष्ठ नागरिकहरुको मानव अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन २०८२, एचआईभी संक्रमित व्यक्तिहरुको मानव अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ र कुसुण्डा समुदायको मानव अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन लेखन २०८३ प्रकाशन गरेका छन् ।
नेपालमा अतिसीमान्तकृत बराम समुदायको जनसंख्या जम्मा सात हजार आठसय ५९ रहेको छ ।




