
गृहमन्त्रीको निर्देशनमा भत्काइयो मनकामना इप्रकाको घेरावार, जनप्रतिनिधिको आपत्ति
इलाका प्रहरी कार्यालय मनकामनाको आफ्नै जग्गा संरक्षणका लागि लगाइएको घेरावार भत्काइएको छ । गृहमन्त्री सुधन गुरुङको ठाडो निर्देशनमा उक्त घेरावार भत्काइएको हो ।
शहिद लखन गाउँपालिका–२ को वडा कार्यालय नजिकै रहेको ३२९.८९ वर्ग मिटर जग्गामा इप्रकाको नयाँ भवन बनाउने योजनासहित गत बर्ष प्रहरीले घेरावार लगाएर आफ्नो जग्गा संरक्षण गरेको थियो । प्रहरी कार्यालयको स्वामित्वमा रहेको उक्त जग्गा आफू अनुकुल प्रयोग गर्दै आएका केही स्थानीयले घेरावार हटाउन गहृमन्त्री समक्ष माग राखेका थिए ।
आफ्नै जग्गा संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेरावार हटाउन गृहमन्त्रीले फिल्डबाटै निर्देशन दिएपछि प्रहरी प्रशासन अन्योलमा थियो । हेडक्वाटरसँग समन्वय गरेर आवश्यक निर्णय लिने जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काले बताएका थिए ।
तर हेडक्वाटरसँग समन्वय नगरी केही दिन अघि घेरावार हटाइएको छ । ‘हेडक्वाटरसँग छलफल भएन,’ एसपी खड्काले भने, ‘गृहमन्त्रीले हटाउनु भनेपछि हामीले आदेश पालना ग¥यौ ।’ उक्त घेरावार प्रहरी चौकीकै जग्गामा रहेपनि गृहमन्त्रीको निर्देशन पश्चात भत्काइएको उनले बताए ।
चौकीको जग्गा संरक्षणका लागि लगाइएको घेरावार हटाएकोप्रति जनप्रतिनिधिले भने आपत्ति जनाएका छन् । निजी स्वार्थका लागि केही व्यक्तिहरुले गृहमन्त्रीलाई गलत बिफ्रिङ गरेको भन्दै पालिका अध्यक्ष रमेश थापाले घेरावार भत्काउनु गलत भएको बताए । ‘प्रहरी कार्यालयको स्वामित्वमा रहेको सरकारी जग्गाको तारवार किन भत्कायो ? के का लागि भत्कायो ? कसैको व्यक्तिगत स्वार्थका लागि हट्यो की ? हामीलाई थाहा भएन,’ उनले भने । तारवार भत्काएको बिषयमा आफूलाई जानकारी समेत नगराएको भन्दै उनले चौकीको जग्गा सुरक्षित गर्न लगाइएको घेरावार भत्काउनु गलत भएको जिकिर गरे ।
वडा नम्वर २ की अध्यक्ष सकुन थापाले चौकीले आफ्नो जग्गा संरक्षणका लागि घेरावार लगाउनु स्वभाविक भएको बताइन् । ‘चौकीको नम्वरी जग्गा हो, चौकीले आफ्नो जग्गा संरक्षण गर्न घेरावार लगाउनु राम्रै हो,’ उनले भनिन्, ‘त्यो घेरावार अहिले भत्काएछ, नम्वरी जग्गा खोसेर पछि जग्गा चाहियो भने कहाँ खोज्ने ?’
उनका अनुसार यसअघि केही व्यक्तिले आफू अनुकुल उक्त जग्गा उपभोग गर्दै आएका थिए । निर्माण सामाग्री थुपार्नेदेखि सवारी पार्किङसम्म सो जग्गा प्रयोग हुदै आएको थियो । आफ्नो जग्गा संरक्षणका लागि प्रहरी कार्यालयले घेरवार लगाएपछि आफू अनुकुल प्रयोग गर्न नपाउँदा समस्या उब्जिएको उनको भनाइ छ ।




