| शुक्रबार, भदौ २५, २०८३

स्युराङ खोला पुलमा घोडा र खच्चड तार्न नपाइने

चुमनुब्री गाउँपालिकाले मनास्लु पदमार्ग अन्तरगत नाम्रुङको स्युराङ खोला पुलमा खच्चड आवतजावतमा रोक लगाएको छ । बिहीबार एक सूचना जारी गर्दै पालिकाले चुमनुब्री–४ स्युराङ खोलामा हालसालै निर्माण भएको काठे पुलमा घोडा तथा खच्चड आवतजावतमा रोक लगाएको हो ।

गत आइतबार बिहान नाम्रुङस्थित थेराङ खोलामा आएको बाढीले त्यहाँको फलामे पुल बगाएको थियो । साथै, सुक्समको झोलुङ्गे पुल बूढीगण्डकीको बाढीले बगाएको उल्लेख छ । बाढीसँगै आएको पहिरोले बाटो बिगारेपछि मनास्लु पदमार्गमा आवतजावत बन्द थियो । बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको छ ।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र स्ुराङ खोलामाथि भने फड्के हालेर आवतजावत गर्न थालेको त्यहाँको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए । सोही फड्केमा घोडा तथा खच्चड आवतजावत नगराउन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको हो ।

‘निर्माण गरिएको काठे पुलको लम्बाई धेरै भएको, हरियो काठको प्रयोग गरी बनाइएको र तत्काल पदयात्री तथा स्थानीयको आवतजावतलाई मात्र प्राथमिकता दिई छोटो समयमा निर्माण गरिएको हुँदा सामानसहितको खच्चड आवतजावत गर्दा काठेपुलले भार वहन गर्न नसक्ने, पुल नै बिग्रन सक्ने र जनावर नदीमा खस्न सक्ने सम्भावना रहेको छ’, पालिकाले जारी गरेको सूचनामा भनिएको छ । वर्षा यामको समय भएको तथा सडक पनि अवरुद्ध हुँदा तत्काल पक्की पुल निर्माण गर्न कठिनाईँ हुने, समय लाग्ने तथा स्युराङको काठेपुललाई बलियो बनाउन केही दिन लाग्ने पालिकाले जनाएको छ ।

झोलुङ्गे तथा काठे पुललाई स्तरीकृत बनाउन गाउँपालिकाले सम्वन्धित निकायसँग समन्वय, पहल तथा सहकार्य गरिरहेको र यथाशिघ्र सम्पूर्ण आवतजावत सुलभ तथा सहज हुने चुमनुब्री गाउँपालिकाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्