
मार्सी धान खेतीले विदेशिएका युवालाई स्वदेशमै निम्तो
गोरखाको एक दुर्गम गाउँ उहियाका मार्सी धानको व्यवसायिक खेती गर्न थालिएको छ । बाँदरले कुनै पनि बाली उत्पादन गर्न नदिएपछि उहिया कृषक आमा समूहले बाँझो जग्गामा मार्सीधान खेती गर्न थालेको हो । समूहमा उहियामा २२ जना आवद्ध छन् ।
धेरै महंगो र स्वादिलो हुने भएकाले लोकप्रिय बनेको मार्सीधान प्रतिपाथी २२५ रुपैँयाका दरमा बिक्री गर्दै आएको छ ।
उहिया कृषक आमा समूहको नेतृत्वमा २०८१ सालदेखि २० रोपनी क्षेत्रफलमा मार्सी धानको खेती सुरु गरिएको थियो । पहिलो वर्ष २१ मुरी धान उत्पादन गरेकामा दोस्रो वर्ष ३० मुरी र यस वर्ष भने करिब ५० मुरी मार्सी धान उत्पादन गरेको छ ।
समूहले यो वर्ष ४० रोपनी क्षेत्रफलमा धान लगाएको थियो ।
कृषक आमा समूहले उहियामा मार्सीधान र फापरको व्यवसायिक उत्पादन गरिरहेको छ, जसको माग बजारमा उच्च छ ।
बिगत बर्षहरुमा उहियामा उत्पादित मार्सी धानको घरायसी उपयोग मात्र गरिन्थ्यो । तीन वर्षदेखि भने महिलाहरुको सामुहिक खेतीले व्यवसायिकता पाएको छ ।
अहिले युवा जनशक्ति विदेश पलायन भइरहेको परिस्थितिमा महिला समूह व्यवसायिक उत्पादनमा लाग्नु र उनीहरुको उत्पादनले बजार पाउनुले युवाहरुलाई स्वदेश फर्किएर यस्तै पेशा, व्यवसाय गर्न अभिप्रेरित गर्दछ । विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमा आफ्नो काम गर्दा इज्जत, मान, प्रतिष्ठा पनि बढाउँछ । साथै युवा जनशक्तिको श्रम र पसिनाले आफन्त, घरपरिवार, समाज र देशको पनि समुन्नति हुनेछ ।
त्यसैले स्थानीय सरकारले मार्सी धानको खेतीमा युवालाई जोड्न सकेमा उनीहरुले स्वदेशमै काम पाउने, आम्दानी पनि गर्ने, वैदेशिक वातावरणको अनावश्यक तनाव र सास्ती पनि खेप्नु नपर्ने हुन्छ । यसप्रति स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।




