| बिहिबार, भदौ २४, २०८३

उहियाको बाँझो जमिनमा मार्सी धानको खेती

प्रतीक्षा आले
बाँदर लागेर हैरान पारेपछि बाँझो छाडिएका उहियाका पाखा, पखेरामा स्थानीयहरुले मार्सी धानको व्यवसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महंगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यवसायिक खेती गर्न सुरु गरिएको हो ।

वर्षैदेखि बाँझो बसेको पाखा, पखेरामा स्थानीय उहिया कृषक आमा समूहको नेतृत्वमा मार्सी धानको खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताइन् । ‘बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेको पाखोमा समूह गठन गरेर मार्सी धान खेती सुरु ग¥र्यौ’, उनले भनिन्, ‘सामूहिक रुपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो । बाँझो जमिनको पनि सदुपयोग भयो ।’

समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धान खेती सुरु गरेको उनले जानकारी दिइन् । घलेका अनुसार समूहले पहिलो वर्ष २१ मुरी धान उत्पादन गरेको थियो । दोस्रो वर्ष ३० मुरी र यस वर्ष भने करिब ५० मुरी मार्सी धान उत्पादन गरेको उहिया कृषक आमा समूहकी प्रमिना घलेले बताइन् ।

‘यसवर्ष हामीले खेती गर्ने जमिनको क्षेत्रफल पनि बिस्तार गरेका थियौँ । यो वर्ष ४० रोपनी क्षेत्रफलमा धान लगाएकोमा ५० रोपनी मार्सी धान फलेको छ’, घलेले भनिन् । उनका अनुसार समूहले मार्सी धान भित्र्याए लगत्तै खाली बस्ने जमिनमा फापर खेती गर्छ । आफूहरुले उहियामा उत्पादन हुने र बजारमा उच्च माग रहेका मार्सी धान र फापर खेती गर्दै आएको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘बजारमा यसको माग पनि उच्च छ । यहाँबाट बजारसम्म पु¥याउन भने केही चुनौती छन् । मार्सी धान र फापर फलफूल, तरकारी जस्तो हत्तपत्त बिग्रदैन । यसलाई यहीँ थन्क्याएर राख्न मिल्ने र पछि माग अनुसार पठाउन मिल्ने भएर पनि खेती गरेका हौँ ।’

उहियाका कृषक आमा समूहले कुटानी नभएको मार्सी धान र फापर क्रमश पाथीको २२५ र पाँचसय रुपैँयामा बिक्री वितरण गर्दै आएका छन् । समूहमा उहियामा २२ जना आवद्ध छन् । बिगत बर्षहरुमा पनि उहियामा मार्सी धान खेती गरिन्थ्यो, तर त्यसको उपयोग घरायसी रुपमा मात्र गरिन्थ्यो । तीन वर्षदेखि भने महिलाहरुले व्यवसायिक उत्पादनका लागि सामुहिक रुपमा खेती सुरु गरेको स्थानीय कुमार घलेको भनाइ छ ।

‘यहाँको रैथाने बालीहरु कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो’, घलेले भनिन्, ‘यहाँ उत्पादन हुने रैथाने बालीहरु मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा बिकृति फैलाउने भएकाले पनि महिलाहरुले मार्सी धान उत्पादनलाई प्रथामिकतामा राखेको हुन् ।’ मार्सी धान पाक्न पनि कम समय लाग्ने र यसको उत्पादनले महिलाहरुको आर्थिक स्थिति समेत उकासिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्