
बाढीले गण्डकी गाउँपालिकाको करिब ९० रोपनी जमिन कटान
प्रतीक्षा आले
त्रिशुली नदीमा आएको बाढीले गण्डकी गाउँपालिकाको करिब ९० रोपनी जमिन कटानमा परेर क्षति भएको छ । बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा पर्ने पालिकाको वडा नं ७ र ८ को करिब ९० रोपनी खेतियोग्य जमिन कटानमा परेको गण्डकी गाउँपालिकाको कृषि सहायक विकास गायकले बताए ।
बाढीले मास, बन्दा, सिमीलगायत कृषि उपज बगाएर लगेको उनले जानकारी दिए । ‘बाढीले जतिपनि क्षेत्र कटान गरेका छन्, ती सबै खेतियोग्य जमिन हुन्’, उनले भने । साथै केही पशु गोठहरुमा समेत क्षति पुगेको गायकको भनाई छ । बाढीले गण्डकी गाउँपालिकाको चारवटा झोलुङ्गे पुलमा क्षति पु¥याएको थियो ।
जसका कारण गाउँपालिकाको कृषि क्षेत्र केही प्रभावित भएको उल्लेख छ । ‘बाढीले पुल बगाएपछि तरकारी कृषकहरुले आफ्नो उत्पादन बजारसम्म पु¥याउन पाएका थिएनन्, तरकारी बाटोमै फाल्नु परेको अवस्था थियो’, उनले भने, ‘अहिले भने किसानहरुले पालिकाको वैकल्पिक बाटो हुँदै धादिङको बेनिघाट निस्केर काठमाडौँ तरकारी पठाइरहेका छन् ।’
गण्डकी गाउँपालिकाको वडा नं ७ र ८ मा व्यवसायिक तरकारी खेती हुँदै आएको छ । वडा नं ७ को उत्पादन ज्यामिरेघाटको पुलहुँदै राजमार्गस्थित संकलन केन्द्र पठाइन्छ । बाढीले ज्यामिरेघाटको पुलमा केही क्षति पु¥याएको भएपनि आवतजावतमा समस्या नरहेको गाउँपालिकाले जनाएको छ । गण्डकी–७ का कृषकहरुले ज्यामिरेघाटको पुल हुँदै राजमार्गस्थित जनकल्याण सहकारी संकलन केन्द्रमा तरकारी बिक्री गर्ने गरेका छन् । उक्त सहकारीमा वडा नं ७ का करिब चारसय कृषकहरु आबद्ध रहेको उल्लेख छ ।
वडा नं ८ का करिब ६ सय तरकारी कृषकहरुले भने धवादीघाटको पुलहुँदै राजमार्गस्थित घ्याल्चोक सामूहिक कृषि सहकारी केन्द्रमार्फत कृषि उत्पादन बिक्री वितरण गर्दै आएका थिए । त्रिशुली बाढीले धवादीघाटको झोलुङ्गे पुल बगाएपछि मारमा परेका कृषकहरुलाई वैकल्पिक मार्ग संचालनमा आएपछि केही राहत मिलेको छ ।
हाल पालिकाले पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा गण्डकी गाउँपालिकाबाट धादिङको बेनिघाट हुँदै काठमाडौँ जाने मार्ग संचालनमा ल्याएपछि कृषि सामाग्री बिक्री वितरण सहज बनेको पालिकाको कृषि सहायक विकास गायकले बताएका छन् । सहकारीमार्फत कृषि समाग्री बिक्री वितरण गर्नेहरुलाई समस्या नभएपनि व्यक्तिगत रुपमा बिक्री गर्नेहरु भने समस्यामा परेका उनको भनाई छ ।
‘सरकारीमार्फत बेच्नेको उत्पादन सहकारीले वैकल्पिक मार्गहुँदै काठमाडौँ पु¥याएको छ । व्यक्तिगत रुपमा राजमार्गसम्म कृषि सामाग्री लगेर बेच्नेहरु भने समस्यामा परेका छन्’, उनले भने ।




