
उत्तरी गोरखाका दुई गर्भवतीको हेलिकोप्टरद्वारा उद्धार
सुत्केरी हुनुपर्ने म्याद नाघेको १० दिन भइसक्दा पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका दुई महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ३ पाङ्सिङका पसनी गुरुङ र सुजता गुरुङको मंगलबार उद्धार गरी काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
म्याद नाघेपछि बच्चाले गर्भभित्रै दिसा खाने खतरा हुने र पाठेघरको रसिलो पदार्थ सिद्धिएर जोखिम हुने भएकाले उद्धार गर्नु परेको सिर्दिबास स्वास्थ्य चौकीकी अनमी जोसिका गुरुङले जानकारी दिइन् ।
‘सुत्केरी हुने म्याद आएपछि पसनी गुरुङ स्वास्थ्यचौकीको प्रशुती केन्द्रमा बस्न आएको तीनदिन भइसक्यो तैपनि ब्यथाले छोएन । म्याद नाघेको १० दिन भइसक्दा पनि व्यथाले छोएन’, अनमी गुरुङले भनिन्, ‘अनि सुजता पनि म्याद नाघेको तीनदिन भइसक्यो सुत्केरी व्यथा नलागेपछि हामीले जोखिम हुने ठानेर उद्धार गरी काठमाडौँ पठाएका हौँ ।’
जोखिम भएपछि तत्काल एम्बुलेन्समा लैजान सडक अवरुद्ध भएको, बोकेर लैजान पनि सम्भव नहुने भएकाले हेलिकोप्टरको माध्यम अपनाउन बाध्य भएको उनको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनीहरुको उद्धार भएको उनको भनाइ छ ।




