
पालुङ्टारका ३३ जनाको सामुहिक श्रद्धाञ्जली सभा
गत भदौ १० गते भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका पालुङटार नगरपालिकाका ३३ जनाको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभा भएको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन सोमबार पालुङटारले पनि बाढीमा ज्यान गुमाएका पालिकाबासीहरुको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
भोटेकोशी बाढीमा परेर पालुङटार नगरपालिकाभित्रका ३७ जना बेपत्ता भएका थिए । रसुवाको गोसाइकुण्ड तीर्थ गएका ३० जना र अन्य ७ जना बाढीमा बेपत्ता परेका हुन् । जसमध्ये हालसम्म तीर्थ गएका ५ जनाको शव फेला परेको छ । अन्य २४ जनाको भने कुशको शव बनाएर दाह संस्कार गरिएको रास्वपाका पालुङटार नगरपालिका सचिव लक्ष्मण गिरीले बताए । एकजनाको भने दाह संस्कार गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
‘तीर्थ गएकाहरु बाहेक विभिन्न प्रयोजनका लागि त्यहाँ पुगेका ७ जना पनि बेपत्ता छन् । चारजनाको कुशको शव बनाएर अन्त्यष्टि गरिसकियो । अन्यको खोजीकार्य भैरहेको छ’, उनले भने । पालुङटार नगरपालिकाले भने तत्काल बैठक बसेर प्रदेश सरकारको राहत प्याकेजसँग नबाझिने गरी बाढीमा आफन्त गुमाएका परिवारलाई छुट्टै राहतको प्याकेज उपलब्ध गराउने मेयरको सचिवालयले जनाएको छ ।
श्रद्धाञ्जली सभामा गोरखा श्रेत्र नं २ का सांसद कवीन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी, गण्डकी गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिना, पालुङ्टारका वडाअध्यक्षहरु र स्थानीयहरुको सहभागिता थियो । उनीहरुले गत भदौ १० गते त्रिशुलीको बाढीमा ग २ ख ११५२ नंबरको बसमा परी बेपत्ता भएका ३० यात्रुको तस्वीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सो दुर्घटनामा परी पालुङ्टार ५ का सागर देवकोटा, राममाया देवकोटा, पद्मकुमारी देवकोटा, तारा रानाभाट, रामहरि देवकोटा, कमला देवकोटा, सुजाता कौडाल, दुर्गादेवी देवकोटा, सपना देवकोटा कृष्णकला देवकोटा, मायादेवी देवकोटा, नानुमाया थापा, दुर्गा देवकोटा, शारदा देवकोटा, मुक्ति अम्गाई, मिठुमाया अम्गाई, घनश्याम देवकोटा, सम्झना देवकोटा, मायादेवी खड्का, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, दिलबहादुर खत्री, मुरारी खत्री, गोमा पपने, पालुङटार ७ का सुमी कुमाल, पालुङ्टार २ का सुस्मा न्यौपाने, भानु नपा २ का सुस्मिता कुँवर र भानु नपा ८ का चिनीमाया खत्री बेपत्ता भएका थिए ।
उनीहरुमध्य सुजाता कौडाल, सुमी कुमाल, तारा रानाभाट, केदार पण्डित, कमला देवकोटा र यमबहादुर थापाको शव पहिचान भएको छ ।




