| सोमवार, भदौ २१, २०८३

नोभा आइसक्रिममा अखाद्य पदार्थ फेला, छानविन गर्न माग

जिल्लामा बिक्री हुने नोभा कम्पनीको आइसक्रिममा अखाद्य पदार्थ भेटिएको छ । आइसक्रिमभित्र बल्छी जस्तो चुच्चो फलामको टुक्रा भेटिएको उपभोक्ता सरस्वती श्रेष्ठले बताइन् ।

शनिवार आफू र छोराका लागि उनले सदरमुकामस्थित एक पसलबाट नोभा कम्पनीको बटरस्कच नामक दुई वटा आइक्रिस (कोन वाला) किनेकी थिइन् । खाने क्रममा आइसक्रिमको बीच भागमा फलामको चुच्चो टुक्रा फेला परेपछि उनी झसँग भइन् ।
‘आइसक्रिम खादै जाँदा मुखमा बिझाएको जस्तो भयो,’ उनले भनिन्, ‘के रहेछ भनेर हेरेको चुच्चो फलामको टुक्रा पो देखे ।’ थपिन्, ‘बच्चाले पनि त्यही आइसक्रिम खाइरहेको थियो । त्यो टुक्रा बच्चाले निलेको भए वा घाँटीमा अड्किएको भए के हुन्थ्यो होला ?’

आक्रोश पोख्दै उनले सोमवार सामाजिक सञ्जाल मार्फत घटनाको निष्पक्ष छानविन गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन् । नोभा कम्पनीको गोरखा डिलरले यसबारे कम्पनीमा जानकारी गराइएको बताएको छ । ‘कम्पनीलाई यो कुरा जानकारी गराइसकेको छु,’ डिलर संचालक रमेश श्रेष्ठले भने, ‘त्यो आइसक्रिमको ब्याच नम्वर कति हो, कहाँबाट किनेको हो सबै डिटेल हेरेपछि के भएको भन्ने थाहा हुन्छ ।’

कम्पनीका व्यक्ति भने फोन सम्पर्कमा आउन चाहेनन् । तीन पटकसम्म फोन गर्दा उनको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्