
तीनलाखले जरिबानाले उपभोक्ताको आक्रोश उस्तै
केही समयदेखि नेपालमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरियो । अभाव देखाएर ग्यास बेच्ने किराना पसलेको पसलमा ग्यास उपलब्ध गराइएन । अनि जिल्लाभरिका उपभोक्तालाई डिलरले आफ्नै आँगनमा पसारो पारे । अभावको घनत्व देखाउन तनावको दृश्य देखाइयो ।
त्यही मौकामा चौका हान्दै डिलरले पनि खुद्रा मूल्यमा ग्यास बेचे । त्यतिले मात्र पुगेन, गोदामका भरि सिलिण्डरबाट ग्यास झिकेर अर्कोमा सारेर बेचियो । यसो हुँदा उपभोक्ताले तीनदेखि चार किलोसम्म कम ग्यास पाए ।यो रहस्योद्घाटन भयो र जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरीसमेत प¥यो । उजुरी परेपछि प्रशासन कार्यालयको नेतृत्वमा गोदामको अनुगमन गरियो । अनुगमनका क्रममा बसपार्कस्थित ग्यासका डिलरको बाह्रकिलोस्थित गोदाममा सिलिण्डरबाट ग्यास झिकेर अर्कोमा भर्ने गरेको सप्रमाण फेला पर्यो ।
यस्तो फेला परेको तेस्रो दिनमा जिल्ला प्रशासन कार्यालयले ती व्यापारीलाई तीनलाख रुपैयाँ जरिबाना तोक्यो । नागरिकले चाहेजस्तो कारबाही हुनुपर्छ भन्ने त छैन, तर कारबाही हल्काफुल्का भयो भन्ने आरोप भने जिल्ला प्रशासन कार्यालयले खेपेको छ । कारबाही यस्तो हुनुपर्दथ्यो कि, अबका दिनमा यस्तो कर्तुत गर्ने कसैले कल्पनासमेत गर्न नसकोस् ।
उपभोक्ता अधिकार ऐन र कालोबजारी ऐनको दफा खुलाएर उनीविरुद्ध प्रशासन कार्यालयमा मुद्दा चलेको थियो । तर दुईमध्य एक कारबाही भयो । एउटा मुद्दा अनुसार उनीमाथि जेल सजायँको व्यवस्था थियो, अर्कोअनुसार अधिकत्तम तीनलाख जरिबानाको व्यवस्था थियो । तर दोस्रोचाहिँ अपनाइयो ।
यसमा सर्वाधिकार मुद्दा फैसला गर्नेको हुन्छ । सो ऐनमा व्यवस्था भएको अधिकत्तम नै जरिबाना गरियो तथापि उपभोक्ताको आक्रोश र आरोप भने मत्थर भएन । १४.२ किलो तौल भएको ग्यासमा चार किलो चोर्नु चानेचुने कुरा थिएन । त्यसैले उपभोक्ताको आक्रोश नघट्नु अस्वभाविक होइन ।




