
आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि
प्रतीक्षा आले ।
गोसाइकुण्ड तीर्र्थ गएका आफन्तहरुको सास बाँकी छैन भन्ने पक्कापक्की भैसक्यो । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका–५ नौखोरबासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पालुङटार–५ नौखोरबाट गोसाइकुण्ड तीर्र्थ गएको यात्रुबहाक बस बेपत्ता बनाएको थियो । बसमा सवार ३६ मध्ये ६ जना सकुशल भेटिए । ४ जनाको शव चितवन र नवलपुरमा भेटिएको छ । २६ जनाको अवस्था भने अज्ञात रहेको स्थानीय लक्ष्मण गिरीले बताए ।
गिरीका अनुसार सम्पर्कबिहीन भएका ३० जनामध्ये कमला देवकोटा, सुजता कौडाल, सुमी कुमाल र केदार पण्डितको शव फेला परेको हो । शव फेला परेकाहरुको परम्परागत रुपमा दाह संस्कार समेत भैसकेको उनले जानकारी दिए । ‘अहिलेसम्म शव नभेटिएकाहरुको पनि कुशको शव बनाएर दाह संस्कार सुरु गरेका छौँ’, उनले भने, ‘हराएको एकहप्ता भयो, अब त शव भेटिने आशा पनि छैन् । त्यसैले आफ्नो परम्परा अनुसार कुशको शव बनाएर दाह संस्कार गर्नुपरेको हो ।’
पालुङटार नगरपालिकाको मस्र्याङ्दी र चेपे नदीको दोभानमा बुधबार सातजनाको र बिहीबार भने चारजनाको कुशको शव बनाएर अन्येष्टि गरिएको गिरीको भनाइ छ । बुधबार बाढीमा बेपत्ता भएका बस चालक सागर देवकोटा, उनकी आमा राममाया देवकोटा, पद्मकुमारी देवकोटा, नानुमाया थापा, सरिता अधिकारी पण्डित, दुर्गा देवकोटा र सुस्मा न्यौपानेको कुशको शव बनाएर दाह संस्कार गरिएको थियो ।
बिहीबार भने मुक्तिनाथ अम्गाईँ र उनकी श्रीमती मिठुमाया अम्गाईँ तथा मधुमाया पण्डित र उनकी देउरानी कमला पण्डितको कुशको शवको दाह संस्कार गरिएको स्थानीय लक्ष्मण गिरीले बताए । बेपत्ता भएका अन्य १५ जनाको पनि कुशको शव बनाएर अन्येष्टि गर्ने तयारी रहेको उनको भनाइ छ । ‘एकैदिन एउटै परिवारका सबैजनाको अन्येष्टि गर्न नमिल्ने रहेछ त्यसैले दिन बिराएर गर्न लागेका हौँ । यहाँ एउटा सिङ्गो परिवार नै बेपत्ता भएको अवस्था छ’, उनले दुखेसो गरे ।




