| बिहिबार, भदौ १७, २०८३

बाढी पीडितको चोटमा मलहपट्टी लगाउँदै डायस्पोरा

भोटेकोशी–त्रिशुलीमा आएको बाढीले घरदेशको गाउँबस्ती उजाडिँएपछि डायस्पोरा व्युँझिएको छ । अमेरिकाको डालास(टेक्सस)मा बसोबास गर्ने गोरखा पालुङटारका युवाहरुले घरदेशको घाउमा मलहमपट्टी लगाउने प्रयास गरेका हुन् ।

प्रवासमा रहेर पनि मातृभूमिको माया नभुल्ने डालासका पालुङटारे युवाहरूले ३ करोड रुपैयाँको बृहत् ‘नेपाल पुनर्निर्माण तथा राहत कोष’ घोषणा गरेका छन् । गैरनाफामूलक संस्था ’भिजिट नेपाल’ र ‘युथ एण्ड डेभलपमेन्ट’ को संयुक्त पहलमा खडा गरिएको कोषको नेतृत्व राजीव राज भाटले गरिरहेका छन् ।

गत भदौ १० गते पालुङटार–५, ठाँटीपोखरीबाट ३६ जनाको तीर्थयात्री बोकेर गएको बस भोटेकोशी–त्रिशुलीको बाढीमा परेर ३० जना बेपत्ता भएपछि गाउँ शोकमा डुबिरहेको छ । गाउँको आँशु पुछ्न डलासका युवाहरुले तीन करोड रुपैयाँ जुटाएर पालुङ्टारका पीडितको घाउमा मलहमपट्टी लगाउन खोजेका त्यहाँ रहेका किरण गिरीले जानकारी दिए ।

सो कोषका लागि संयोजक राजिव राज भाट एक्लैले ३० लाख रुपैयाँ योगदान गरेका छन् । ‘यो बेला शोकमा डुबेर बस्ने बेला होइन, शोकलाई शक्तिमा बदल्ने बेला हो’ भिजिट नेपालका अभियन्तासमेत रहेका किरण गिरीले भने ‘यही संकल्पसहित राजिवले व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसक्नुभएको छ । यो त सुरुवात मात्रै हो ।’

यो कोष ‘एक नेपाली, एक रुपैयाँ’को अवधारणामा विश्वभरका नेपालीलाई जोडेर बनाइएको हो । पहिलो चरणमा तत्काल उद्धारका लागि राजभाटले हस्तान्तरण गरेको ३० लाखबाट बाढी प्रभावित क्षेत्रमा उद्धार टोली, खाद्यान्न, लत्ताकपडा र औषधी पु¥याइनेछ ।

दोस्रो चरणमा दीर्घकालीन पुनस्थापना गर्न बाँकी साढे दुई करोडभन्दा बढी रकमले क्षणिक राहत मात्र होइन, भत्किएका विद्यालय, स्वास्थ्य चौकी र आधारभूत पूर्वाधारको पुनर्निर्माण गरिनेछ । साथै बाढीमा अभिभावक गुमाएका र जोखिममा परेका बालबालिकाको शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी भिजिट नेपाल र युथ एण्ड डेभलपमेन्टले लिने गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्