
धर्मखोलाको बाढीमा धर्मराउँदै स्कूल जाँदै
देशभरि बाढीपहिरोको सन्त्रास फैलिरहेका बेला आरुघाट गाउँपालिका २ छाप र ठोट्नेरीका बालबालिकालाई बाढी आएको धर्मखोला तरेर स्कूल जान खुट्टा काम्छ । यसअघि पनि सो खोलाले धेरै मान्छेलाई बगाएर मृत्यू भएको खबरले नयाँ पुस्ताका बालबालिकाहरुलाई सो खोला तर्ने बेला खुट्टा मात्र होइन मुटु पनि कमाउँछ ।
दुई गाउँका ६०–७० घरधुरीका विद्यार्थीहरु मान्बुको भवानी मावि अध्ययन गर्न ४५ मिनेट पैदल हिँड्छन् । ‘बाटोमा धर्मखोला छ । ठाडोखोलाको बाढी तर्नु चानेचुने कुरा होइन । लेख बर्सिएपछि बाहुलाउँदै झर्छ । बालबालिका त के कुरा, ठूला मान्छेहरु पनि तर्न आँट गर्दैनन्’, प्रधानाध्यापक काजीराम कार्की भन्छन्, ‘बर्खाका बेला हरेक दिन साँझ बिहान अभिभावक यो खोला तार्न आउनुहुन्छ । अभिभावक नआएसम्म हामी बालबालिका छोड्दैनौँ ।’
छाप, ठोट्नेरीमा कक्षा ३ सम्ममात्र पढाइ हुन्छ । चार कक्षाभन्दा माथि पढ्न मान्बु आउनु पर्छ । ‘लेख बर्सिरहेको हुन्छ । गाउँमा पानी नआए पनि लेख बर्सिएपछि धर्मखोला बढ्नेरहेछ’, अर्का स्थानीय सूर्यमान गुरुङ भन्छन्, ‘त्यसैले अभिभावकहरु बर्खाभरि हरेक दिन बालबच्चा लिन पु¥याउन जान्छन् ।’ यसअघि सो खोलाले धेरैको ज्यान लिएको उनको भनाइ छ ।
सो ठाउँमा झोलुंगे पुल हाल्ने आश्वास पाएको धेरै समय भइसकेको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री नन्दप्रसाद न्यौपाने पनि सोही गाउँका हुन् । अब भने पक्का धर्मखोलामा झोलुंगे पुल बन्नेमा गाउँलेहरु ढुक्क छन् ।




