
सिलिण्डरबाट ग्यास चोर्ने गोदाम सञ्चालकलाई कारबाही कहिले ?
गोरखा बसपार्कका अन्नपूर्ण सप्लायर्स नामक खाना पकाउने ग्यास विक्रेताले बेचेको ग्यासको सिलिण्डरमा हुनुपर्नेभन्दा चार, पाँच किलो कम तौल भएको भन्ने उजुरी प¥यो । सोही आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार बाह्रकिलोस्थित उनको ग्यास गोदामको अनुगमन ग¥यो ।
अनुगमनका क्रममा सो टोलीले उद्योगबाट आएको सिलिण्डरमा उपकरण जोडेर चारदेखि पाँच किलोसम्म ग्यास निकालेको तथ्य पत्ता लगायो । सोही बमोजिम प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन बुझायो । बसपार्कबाट ग्यास बेच्ने ती व्यापारीले सिलिण्डरको सिल फुटाएर ग्यास चोर्ने र बेच्ने गरेको पाइएको व्यहोरा सो प्रतिवेदनमा उल्लेख छ ।
भरिएको सिलिण्डरको तौल कम्तिमा २९ केजी हुनुपर्नेमा २५ केजीमात्र भेटिएको छ । साथै गोदाममा रहेका सिलिण्डर सिल गर्न प्रयोग भएका प्लाष्टिक पनि उद्योगले गरेको सिलभन्दा फरक पाइएको थियो । कम्पनीले लगाएको सिल तोडेर ग्यास चोर्ने अनि अर्को प्लाष्टिकको सिल लगाएर बेच्ने गरेको अनुगमन टोलीले ठहर गरेको छ ।
सो कुरा अनुगमन टोलीले मात्र होइन, गोदामका कामदारले पनि स्वीकार गरेका छन् । अनुगमनका क्रममा सिलिण्डरबाट ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो जस्तो उपकरण समेत गोदामबाट बरामद गरिएको छ । यसरी बेच्दा उपभोक्ता धेरै ठगिने गरेका छन् । त्यसैले बसपार्कका ती ग्यास बिक्रेतालाई उपभोक्ता संरक्षण ऐन वा कालाबजारी ऐनअन्तरगत कारवाही हुनुपर्ने आम उपभोक्ताको माग छ ।
उपभोक्ता संरक्षण ऐन अन्तरगत दण्ड, जरिवाना र कालाबजारी अन्तरगत जरिवानासँगै जेल सजायसमेत हुने व्यवस्था छ ।
ग्यास गोदाम राख्ने व्यापारी स्वयंले ग्यास चोर्नु जघन्य अपराध हो, सर्वसाधारण उपभोक्तामाथि ठगी हो । त्यसैले त्यस्ता कालाबजारी कारबाहीको दायरामा आउन ढिलाइ किन भएको भन्ने प्रश्न आम उपभोक्तामाझ उब्जिएको छ ।




