
सिण्डिकेटका नाइकेविरुद्ध पीडितद्वारा किटानी जाहेरी
आफ्नोबाहेक अरु यातायात कम्पनी दर्ता गर्न नदिने सिण्डिकेटका नाइकेहरुविरुद्ध पीडितले किटानी जाहेरी दिएका छन् । सांघातिक आक्रमणमा पर्ने गोरखकाली यातायात सेवा प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन)ले शनिबार आफूमाथि आक्रमण गर्ने मुख्य चारजनाविरुद्ध जाहेरी दिएका हुन् ।
अर्को समिति किन सञ्चालन गर्न लागिस् ? भन्दै दिनदहाडै गोरखा बजारको बीच सडकमा आफूलाई आक्रमण गर्ने अशोक अर्याल, ज्ञानेन्द्र बस्नेत, सत्यराम थापा र बाह्रकिलो ट्याक्सी इकाइका आले थरका कर्मचारीविरुद्ध किटानी जाहेरी दिएको खड्काले जानकारी दिए ।
जाहेरी मंगलबार दर्ता नभए पनि बुधबार अवश्य दर्ता हुने उनले विश्वास व्यक्त गरे । ‘डिएसपीसावले अहिले म बाहिर मिटिङमा छु, हेरेर दर्ता गर्छु भन्नुभएको छ’, उनले भने, ‘उहाँकै सुझावअनुसार मैले उहाँकै टेबलमा छोडेर आएको छु ।’ नेपालको प्रचलित कानून विपरीत सिण्डकेट लाद्न खोज्नेविरुद्ध कारबाही हुनेमा उनले विश्वास व्यक्त गरे ।




