
गोरखामा ६६ शव फेला, ३६ व्यवस्थापन, ६ को सनाखत
भोटेकोशी–त्रिशुली बाढीले बगाएर गोरखाका विभिन्न भूभागमा ल्याइपुर्याएकामध्य ६६ जनाको शव फेला परेको छ । गण्डकी गाउँपालिकाको वडा नं. १, २, ६, ७ र ८ तथा सहिदलखन गाउँपालिकाको वडा नं. ३ र ४ भएर बग्ने त्रिशुली किनारमा हालसम्म ६६ जनाको शव फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार फेला परेका शवमध्ये छवटा शवको मात्र सनाखत भएको छ । गोरखामा शवका टुक्राहरु मात्र राखिएको र सग्लो शव पठाएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकाले सनाखत पनि पोखरामा भएका प्रहरीको भनाइ छ । एसपी श्रेष्ठका अनुसार हालसम्म इलामका दिवानन्द सुवेदी, पालुङटार ६ का यमबहादुर थापा, पाल्पाका दीपेन्द्र विष्टको शव पहिचान भएको हो ।
त्यस्तै गोरखाको एनपिआई अस्पतालमा राखिएकामध्य दोलखा बैतेश्वर १ साहुटोलका सुजन श्रेष्ठको पनि सनाखत भएको छ । त्यस्तै ताक्लाकोट २ हुम्लाका लवकुश शर्माको शवको पनि पहिचान भएको छ । विदुर ४ नुवाकोटकी हसना खातुनको पनि सनाखत भएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । सनाखत भएका सबै शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ ।
पहिचान हुन नसकेका शवलाई ‘जमिनमुनि व्यवस्थापन गर्ने’ सरकारी निर्णयअनुसार हालसम्म ३६ शव व्यवस्थापन गरिएको डिएपी श्रेष्ठले जानकारी दिए ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गत शनिबार २९ वटा शव सहिदलखन गाउँपालिका–९ बुंकोटघाटस्थित बुढीगण्डकीको किनारमा व्यवस्थापन गरिएको थियो । सोमबार थप ७ वटा शव गोरखा नगरपालिका वडा नं. १२ अँबुवाको दरौंदी लुदीखोला दोभानको किनारमा व्यवस्थापन गरिएको उनले बताए ।
हालसम्म पहिचान खुल्न नसकेका र पहिचान खुल्न नसक्ने शरीरका विभिन्न अंगहरुको सामुहिक रुपमा व्यपस्थापन गरिएको जनाएको छ । उक्त शवहरुबाट डिएनए परीक्षणका लागि नमूना लिएर व्यवस्थापन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
हालसम्म फेला परेका सग्ला शवहरुमध्य ११ वटा पोखरा पठाइएको र बाँकी शवहरु भने प्रदेश अस्पताल गोरखा र एनपिआई गोरखा हस्पिटलको शवगृहमा राखिएको उनको भनाइ छ । सनाखत भएर परिवारले शव बुझेकामा ५ पुरुष र एक महिला रहेको उनले बताए ।




