| बुधबार, भदौ १६, २०८३

बाढीको इपिसेन्टरका लागि भूकम्पको इपिसेण्टरमा राहत संकलन

भोटेकोशी बाढीको केन्द्रविन्दू भनेर चिनिने रसुवा र नुवाकोटका बाढी पीडितका लागि गोरखा भूकम्पको केन्द्रविन्दू बारपाकबाट राहत संकलन गरिएको छ । मानवीय पीडाप्रति समभाव राख्दै बारपाकबासी गुरुङ, घले र विश्वकर्मा समुदायले राहत संकलन गरेका हुन् ।

भूकम्पका बेला आफूहरुले व्यहोरेको दुख सम्झेर घरघरबाट राहत रकम जुटाएर सहयोग गर्न लागिएको बारपाक सुलिकोट १ का वडाअध्यक्ष धनबहादुर घलेले जानकारी दिए । ‘घर–घरबाट राहत रकम संकलन गरेर सहयोग गर्न लागेका हौँ’, उनले भने, ‘बारपाकका १५ सय भन्दा धेरै घरधुरीबाट एकेक हजार रुपैयाँका दरले राहत रकम उठाउँदैछौँ ।’ सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाउने उनले बताए ।

बारपाकमा हामी घले, गुरुङ र विश्वकर्मा तीन समुदायको मात्र बसोबास छ । ‘गुरुङ, घलेहरुको पनि आफ्नो आफ्नो खलक हुन्छ । त्यही खलक–खलक मिलेर राहत रकम संकलन गर्छौँ’, उनले भने, ‘खलकले उठायो भने कोही छुट्दा पनि छुट्दैन, दोहोरिँदा पनि दोहोरिँदैन ।’ आउँदो २० गते शनिबारभित्र राहत रकम संकलन गरिसक्ने उनले बताए ।

गत भदौ १० गते भोटेकोशी, त्रिशुलीको बाढीले रसुवा, नुवाकोटको हजारौँ जनधनको क्षति भएको छ । त्यहाँका पीडितका लागि देशभरबाट राहत संकलन हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्