| बिहिबार, भदौ १७, २०८३

गोरखामा विपदको मौका छोपेर ग्यासमा कालोबजारी, सिल गरेको सिलिण्डरबाटै ग्यास गायव

बिकास मरहट्टा । विपद र अभावको मौका छोपेर जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ । जिल्लाका ग्यास डिलरमध्ये बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले सिल गरेको सिलिण्डरबाटै ग्यास चोरेर बेच्ने गरेको खुलासा भएको हो ।

कम तौलको ग्यास बिक्री गरेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सोमवार सप्लायर्सको बाह्रकिलोस्थित गोदाममा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सप्लायर्सले सिलिण्डरको सिल फुटाएर ग्यास चोर्ने र बेच्ने गरेको पाइएको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।

‘त्यहाँ गोदाममा भरिएको सिलिण्डर थिएनन्, सबै बेचिसकेको रहेछ,’ उनले भने, ‘त्यहाँबाट बिक्री भएका सिलसहितको केही सिलिण्डर जोख्यौं, करिव चार केजी तौल कम पाइयो ।’ भरी सिलिण्डरको तौल कम्तिमा २९ केजी हुनुपर्नेमा २५ केजीमात्र भेटिएको उनले बताए ।

उनका अनुसार सिलिण्डर सिल गर्न प्रयोग भएको प्लाष्टिक पनि कम्पनीकोभन्दा फरक पाइएको छ । ‘कम्पनीले लगाएको सिल तोडेर ग्यास चोर्ने अनि अर्काे प्लाष्टिक लगाएर सिल गर्ने गरेका रहेछन्,’ उनले भने, ‘अनि कम तौल भएको त्यही ग्यास बेच्दा उपभोक्ता ठगिने गरेको पाइयो ।’

सो कुरा गोदामका कामदारले पनि स्वीकार गरेका छन् । अनुगमनका क्रममा सिलिण्डरबाट ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो जस्तो उपकरण समेत गोदामबाट बरामद गरिएको सहायक प्रजिअ शर्माले बताए । उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन वा कालाबजारी अन्तरगत कारवाही हुनुपर्ने उनले जिकिर गरे ।

उपभोक्ता संरक्षण ऐन अन्तरगत जरिवाना र कालाबजारी अन्तरगत जरिवानासँगै जेलसजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए । ‘हाम्रो अनुगमन समितिले यही प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ,’ उनले भने, ‘अव कारवाही प्रक्रिया अघि बढ्ला ।’

सहायक प्रजिअ शर्माको नेतृत्वको अनुगमन टोलीमा जनप्रतिनिधि, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, एकीकृत सेवा कार्यालय, पत्रकार महासंघ लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त सप्लायर्सले बाबा, लुम्बिनी, चण्डी लगायतका ग्यास बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्