| मङ्लबार, भदौ १५, २०८३

हतारिएर अन्त्येष्टि गर्नुभन्दा शवगृहको क्षमता बढाउनु उचित

भोटेकोशी–त्रिशुलीको बाढीले बगाएर गोरखातर्फको बगरमा ल्याइपु¥याएका र फेला परेका शवहरुमध्य २९ वटाको शनिबार अन्त्येष्टि गरिएको छ । हालसम्म फेला परेका ५५ शवमध्य शरीरका केही अंगमात्र भेटिएका २९ वटाको जिल्ला सुरक्षा समितिले अन्त्येष्टि गरेको हो ।

शरीरका केही अंगमात्र रहेकाले हालसम्म पहिचान खुल्न नसकेका र अब पनि पहिचान खुल्ने सम्भावना कम भएका त्यस्ता शवहरुको सामुहिक रुपमा अन्त्येष्टि गरिएको सरकारी पक्षको तर्क छ । तर सम्बन्धित आफन्तलाई हस्तान्तरण नगरी हतार गरेर अन्त्येष्टि गरेको भन्दै यसप्रति स्थानीयबासीले आलोचना गरेका छन् ।

शव र तिनका अंगहरुलाई व्यवस्थित शवगृहभित्र सुरक्षित राख्ने र डिएनए परीक्षण वा अन्य विधिद्वारा पहिचान भएपछि आफन्तलाई हस्तान्तरण नगरी हतार गरेर अन्त्येष्टि गर्नु शवप्रति र उनीहरुका आफन्तप्रति पनि अपमान भएको स्थानीयहरुको तर्क छ । सवै शवहरु व्यवस्थित गर्न गोरखामा शवगृहको अभाव भएकाले अन्त्येष्टि गरिएको सुरक्षा समितिको तर्क रहेको छ ।

दैनिक नयाँ–नयाँ शव वा शवका अंगहरु फेला पर्ने क्रम बढ्दै गएकाले व्यवस्थापनको समस्याले अन्त्येष्टि गरेको सरकारी पक्ष दावी गर्छ । पर्याप्त व्यवस्थित शवगृह नहुँदा प्राप्त शवहरु बिग्रने, गन्हाउने र रोगहरु फैलन सक्ने हुँदा अन्त्येष्टि गर्नु परेको सरकारी पक्षको भनाइ छ ।

तर निजी क्षेत्रको भने फरक दाबी छ । अल्पकालीन रुपमा शवगृह बनाउन धेरै खर्च पनि नलाग्ने र सरकारले अनुमति दिएमा निजी क्षेत्रले छिट्टै पर्याप्त शवगृह बनाउन सक्ने उनीहरु तर्क गर्छन् । यसमा सरकारको दुरदृष्टि र व्यवस्थापकीय पाटो कमजोर भएको उनीहरु बताउँछन् । सरकारले शवगृह बनाउनेतर्फ नसोची अन्त्येष्टि गर्न हतार गरेको सर्वसाधारणको अभिमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्