
गोरखा आँबुखैरेनी सडकमा भएको बस दुर्घटनामा १६ यात्रु घाइते
आँबुखैरेनीबाट गोरखातर्फ आउँदै गरेको बस पल्टिदा १६ जना घाइते भएका छन् । ना ३ ख ७५४४ नंबरको बस साँढे पाँच बजे गोरखा नगरपालिका ११ को सोह्रकिलो भन्ने ठाउँमा सडकबाट करिब २८ फिट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज दयाराम पौडेलले जानकारी दिए । घाइते १६ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको र सबैको अबस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।
घाइते भएकाहरुमा गोरखा नगरपालिका ६ छहरे निबासी सरिता बिक, गोनपा ६ हरमटारीकी कल्पना राना र बुधबहादुर राना, धार्चे गाउँपालिका २ की जिया गुरुङ, जमुना गुरुङ र जेशिला गुरुङ, घ्याल्चोक गाउँपालिकाका आकृति तिमिल्सिना र आयुश तिमिल्सिना, आरुघाट गाउँपालिका केउरेनी निबासी मनकुमारी आले, गोरखा नगरपालिका ५ काफलघारी निबासी दिलबहादुर राना, गोनपा ६ अस्पतालमार्ग निबासी सुनिता अर्याल, पालुङ्टार ८ गौलीटार निबासी सबिता पाठक, गोनपा ६ हरमटारी निबासी अनु श्रेष्ठ, भीमसेन गाउँपालिका १ निबासी प्रकास नेपाली घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकालाई उद्धारका लागि एम्बुलेन्स सेवा नपाइएको उद्धारमा खटिएका एकले बताए । अस्पताल परिसरमा राख्नु पर्ने एम्बुलेन्स कुनै पनि उपलब्ध नभएपछि घाइतेलाई ट्याक्सीमा उद्धार गरिएको उनले बताए ।
साथै अस्पतालले समयमै एक्सरे सेवा दिन नसक्दा घाइतेलाई नीजि अस्पतालतर्फ लगिएको र अस्पतालमा र आसपासका फार्मेसीमा समेत टिटी सुई उपलब्ध हुन नसक्दा घाइते समस्यामा परेको स्रोतले जनाएको छ ।




