
भोटेकोशी बाढीमा बेपत्ता हुने गोरखालीको सङ्ख्या ६६ भन्दा धेरै
भोटेकोशीमा बुधबार आएको बाढीमा परेर गोरखाका ६६ जनाभन्दा धेरै बेपत्ता भएका । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाबाट मानिसहरु सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए ।
बाढीमा परेर पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३० यात्रुहरु बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले जानकारी दिइन् । ग २ ख ११५२ नम्बरको बसमा सवार ३६ यात्रुमध्य ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उनको भनाई छ ।
रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका ७ जना सम्पर्क बिहीन बनेका छन् । यस्तै, धार्चे गाउँपालिकाबाट ४ जना, भिमसेनथापा गाउँपालिकाका दुईजना र बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।
सिरानचोक गाउँपालिकाका चार र आरुघाट गाउँपालिकाका तीनजना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कबिहीन बनेका छन् ।
यसैगरी, गोरखा नगरपालिकाका तीनजना, अजिरकोट गाउँपालिकाका दुईजना र गण्डकी गाउँपालिकाबाट एकजना बाढीमा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत बुधबार बिहान ९ बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।




